गृहपृष्ठ चिनियाँ राजदूत र गृहमन्त्रीबीच भेटवार्ता
चिनियाँ राजदूत र गृहमन्त्रीबीच भेटवार्ता
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग शिष्टाचार भेट गरेकी छन् । राजदूत होउ र गृहमन्त्री थापाबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
उक्त भेटमा नेपाल-चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।
गृहमन्त्री थापाले नवनियुक्त राजदूत होउलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । राजदूत होउको कार्यकालमा नेपाल-चीन सम्बन्धले थप उचाई लिने थापाको विश्वास थियो । त्यस्तै मन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिबाट चिनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेटका अवसरमा होउले आफ्नो कार्यकालमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सक्दो पहल गर्ने उल्लेख गरेकी थिइन् । नेपालले चीनविरोधी गतिविधि नियन्त्रणमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरिन् ।
भेटका क्रममा होउले गृहमन्त्री थापालाई चीन भ्रमणको निम्ता दिएकी थिइन् भने गृहमन्त्री थापाले चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
प्रकाशित समय १४:४२ बजे

















