गृहपृष्ठ एसपी बढुवामा चलखेल !
एसपी बढुवामा चलखेल !
कनिष्टलाई बढुवा गरेको भन्दै एसपी उप्रेतीद्वारा राजीनामा
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाप्रति असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले पदबाट राजीननामा दिएका छन् । बढुवा सिफारिस समितको बैठकले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न प्रस्ताव गरेपछि एसपी उप्रेतीले राजीनामा दिएका हुन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार १४ एसपीको पदोन्नतिको सिफारिस गरेको थियो । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आईतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । संगठनमा २४ वर्ष निष्ठा र सेवा भावले काम गरेको बताउँदै उप्रेतीले अब पद ओगटेर बस्नुको अर्थ नभएको बताए । ‘हो मैले राजीनामा बुझाए, मैले छोड्दा एकजना सक्षम डिएसपीलाई अगाडि बढ्ने मौका मिल्ने छ ,’ उप्रतीले न्यूज कारोबारसँग भने ।
शुक्रबार बेलुकासम्म एसएसपी बढुवाको सूचीमा रहेका उप्रेतीको नाम शनिबार दिनभरको चलखेलबाट काटिएको प्रहरी संगठनभित्र चर्चा छ । कार्यक्षमता, अनुभव र योग्यताभन्दा पनि राजनीतिक सेटिङमा बढुवा सूची तयार गरिएको र त्यही चलखेलको सिकार उप्रेती भएको धेरैले टिप्पणी गरेका छन् । ‘कार्यक्षमता र बरिष्ठलाई पदोन्नती नगरी पहुँचको भरमा कनिष्टलाइ बढुवा गर्ने यस्तो अत्याचारको साक्षी बनेर संगठनमा बस्नु हुँदैन, अन्याय र अप्रिय अवस्था अरु सहकर्मीले भाग्नु नपरोस् भन्दै राजीनामा दिनुभयो,’ एक उच्च प्रहरी अधिकारीले न्यूज कारोबारसँग भने ।
बढुवाका लागि सबै हिसाबले योग्य हुँदाहुँदै पनि अन्तिम क्षणमा उप्रेतिको नाम काटिएको जनाइएको छ । उप्रेतीभन्दा जुनिएर अधिकृतहरुलाई बढुवामा पारिएको छ । बढुवामा परेका टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल उप्रेती भन्दा जुनियर हुन् । उप्रेतीले बारा, रसुवा, सिन्धुली र उदयपुरलगायतका जिल्लामा कमान्ड समालेका थिए । उनले अहिलेका प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग प्रहरी परिसर र महाशाखामा काम गरेका थिए ।
जुनियरलाई बढुवा गर्न नियम संशोधन
अहिले एसएसपीमा बढुवाका प्रतिष्पर्धीहरु २०५१-०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन् । उनीहरु २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए । लामो समयसम्म एसएसपीको दरबन्दी खाली भएकाले प्रहरीको दैनिक पुलिसिङ, चेन अफ कमाण्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कार्बाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालय नियमावली संशोधन गर्दै बढुवा गरिएको हो ।
गत पुस २९ गते मन्त्रिपरिषद बैठकले एकाएक प्रहरीको बढुवा सम्बन्धी नियमावली संसोधन गरेको थियो । यसका पछाडि जुनियर अधिकृतहरुलाई बढुवा पार्ने डिजाइन र राजनीतिक सेटिङ थियो । यदि त्यो नियमावली संशोधन नभएको भए एक सय आठ ब्याजका सिनियर एसपीहरुको स्वभाविक बढुवा हुन्थ्यो ।
त्यसमा उप्रेती स्वभाविक रुपले दोस्रो नम्बरमा थिए । तर एक सय दस ब्याज जुनियरलाई एसपीहरुलाई समावेश गर्न यो नियमावली संशोधन गरिएपछि उनको बढुवा भएन । जसकारण असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । झन्डै एक वर्षदेखि रिक्त रहेका एसएसपी पदपूर्ति गर्न सरकार मौन रहनु र नियमावली संशोधन गरेको दुई हप्तामै हतार हतारमा बढुवाको सूची निकाल्नुका पछाडि ठूलै चलखेल रहेको बताइन्छ ।
प्रकाशित समय १५:५५ बजे

















