गृहपृष्ठ काष्ठमण्डपको चारवटा मूल थाम ठड्याइयो
काष्ठमण्डपको चारवटा मूल थाम ठड्याइयो
ऐतिहासिक महत्व बोकेको काष्ठमण्डपको पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणको क्रममा सातौ शताब्दीको काष्ठमण्डपमा आज चारवटा मूल थाम ठड्याइएको छ ।
काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको ‘प्यंग था’अर्थात चार वटा थाम आइतबार विशेष संकल्प पूजा गरी ठड्याइएको हो । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतले संकल्प पूजा गरेका थिए ।
सो अवसरमा जीवित देव गणेश, भैरव र मखन टोलकी जिवित देवी कुमारीसमेत उपस्थित थिए । पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुरानै प्रविधिमा काष्ठमण्डपको पुनर्निर्माण गरिने बताए । चार वटा थाम मध्ये एउटा पुरानै र ३ वटा नयाँ प्रयोग गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा झण्डै १८ करोड रुपैयाँ लाग्ने र तीन वर्षभित्र सकिने समितिले जानकारी दिएको छ ।
प्रकाशित समय १८:५१ बजे

















