गृहपृष्ठ पुरुष तथा महिला ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल कास्यमै सीमित

पुरुष तथा महिला ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल कास्यमै सीमित

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ब्याडमिन्टनको पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै चित्त बुझाएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुवै टोली श्रीलंकासँग पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो । श्रीलंका फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को सेटमा पराजित गरेको थियो । पुरुषतर्फ नेपालका रत्नजित तामाङ श्रीलंकाका निशान पेर करुनारत्नेसँग २२–२० र २१–९ का सोझो सेटमा पराजित भए ।

त्यस्तै नेपालका दिपेश धामी श्रीलंकाका सचिन प्रेमाशन अन्गोडा भिडानेजसँग २४–२२, १८ –२१ र १६ –२१ सेटमा पराजित भए । यसैगरी अर्को खेलमा रञ्जित तामाङ र दिपेश धामीको जोडीलाई थरिन्डु डि डुम्बुकोला गुनाथिलाके र सचिन प्रेमासन अन्गोडा भिडानेजले ११–२१ र १५–२१ को सोझो सेटमा पराजित गरे ।

नेपालका लागि भने प्रिन्स दाहालले सान्त्वना जित निकाले । प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१ र २१–१९ को सेटमा पराजित गरे पनि नेपाललाई फाइनलमा पु¥याउन असमर्थ रहे ।

पाकिस्तानलाई हराउँदै भारत पुरुष टिम इभेन्टमा फाइनल प्रवेश गरेको छ । भारतले पाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै श्रीलंकासँगको स्वर्ण पदकका लागि भिडन्त पक्का गरेको हो । भारतका श्री साइ सिरिल बर्मा अल्लुरीले पाकिस्तानका अवेइस जाहिदलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरे ।

अर्को खेलमा भारतका कृष्णप्रसाद गरंगाले पाकिस्तानका अलि मुरादलाई २१–१९ र २१–१८ र तेस्रो खेलमा भारतका अरुण जर्जले पाकिस्तानका राजा मोहम्मद हुसेनलाई २१–१२ र २१–१२ को सेटमा पराजित गरे ।

महिलातर्फको सेमीफाइनल खेलमा नेपालकी नङ्शाल तामाङ श्रीलंकाकी थिलिनी प्रोमाडिकासँग २–२१ र १६–२१ को सोझो सेटमा, अनुमाया राई डिल्मी प्रेम्सिकासँग ८–२१ र ८–२१ को सेटमा तथा सीमा राजवंशी अचिनी निमलेशीका रथनासिरीसँग १२ –२१ र ८–२१ को सेटमा पराजित हुँदै परिणाम सुम्पिए । विजयी श्रीलंका फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै आजै भएको अर्को सेमीफाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । भारतकी साइ उत्तेजिथा रावले पाकिस्तानकी महुर शाहजादलाई २१–१२ र २१–१८, गायत्री गोपीचन्दले पल्वाशा बशीरले २१–१४ र २१–११ तथा स्रियंशी प्रदेशीले गजला सिद्दिकीलाई २१–१४ र २१–१२ को सेटमा पराजित गरे ।

महिला तथा पुरुष दुवैतर्फको फाइनल खेल आजै साँझ ६ बजे हुनेछ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु