गृहपृष्ठ ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को मुख्य प्रायोजकमा कैलाली अस्पताल

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को मुख्य प्रायोजकमा कैलाली अस्पताल

कैलाली अस्पताल धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।

अस्पतालका अध्यक्ष जनकराज जोशी र मञ्चका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अब दोस्रोपटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस रहनेछ । ‘यसपटक कोरोना भाइरसको महामारीका कारण अवार्ड आयोजनामा कठिनाई भइरहेको वर्तमान अवस्थामा मुख्य प्रायोजकको साथले हामी हौसिएका छौं,’ अध्यक्ष ओझाले भने, ‘हाम्रा दुईवटा संस्करण आयोजनामा मुख्य प्रायोजकको रुपमा साथ दिएकोमा कैलाली अस्पताललाई धन्यवादसहित आगामी पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो यो सहकार्य र साथ आउने वर्षहरुमा निरन्तरताको लागि आग्रह गर्दछु ।’ कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउनु निकै खुसीको खबर भएको अस्पतालका अध्यक्ष जोशीले बताए । ‘यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ,’ उनले भने ।

अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिँदै आएको छ ।

मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिक, लाइफटाइम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । वर्ष प्रशिक्षक र वर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भइरहेको मञ्चका अध्यक्ष ओझाले बताए । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ । अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिस होम एक्सन स्पोर्टस र धनगढीका स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु