गृहपृष्ठ हरितालिका तीज र यसको महत्व
हरितालिका तीज र यसको महत्व
हरितालिका तीजको धार्मिक प्रसंग
हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् ।
दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्रप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्तीहरु छन् ।
विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ ।
कसरी मनाउने हरितालिका तीज ?
खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव्म ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरुमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।
तीज महोत्सब, तीज महामेला, तीज माहाकुन्भ, तीज फेस्टिबल, तीज त्यौहार जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्याता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यलयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ ।
लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तीजको रमझममा रमाइरहेका हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।
मुलुकको उत्पादनमुखि अर्थतन्त्र खस्कँदो छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् । सरकारले फजुल खर्च कम गर्ने, दरका नाममा हुने विकृति नियन्त्रण गर्ने र पार्टी प्यालेसहरुमा सांस्कृतिक विकृती नियन्त्रण गर्ने कानुन पनि निर्माण गरेको छ । हामी सरकारलाई दर खाई टन्न भएर गाली पनि गर्छौं । सरकारले केही गरेन पनि भन्छौं । सोचौं त सरकारले फजुल खर्च कम गर भनेको छ, नियन्त्रण गर्ने ऐन कानुन छ । हामीले चाहिँ कहाँ र कहिले पालना गर्यौं त ? यस्ता प्रश्नहरु धेरै छन् र प्रायः अनुत्तरित पनि छन् ।
यस वर्षको तीज मंगलबारबाट प्रारम्भ हुँदैछ । हरितालिका तीज संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतीलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विषाक्त बन्दै जाने छ ।
हरितालिका तीजको प्रथम दिन अर्थात भाद्र शुक्ल द्वितीय दर खाने दिन हो शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङकार विकृती र विसंगतीबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।
शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पुर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एव्म श्रीबृद्धि हुने विश्वास यस व्रतको हो । हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेश्र्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ ।
तीजमा के गर्ने के नगर्ने ?
पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी प¥यो । कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन् । यी र यस्ता समामचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे ग¥यौं ग¥यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला ।
हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं । के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं । यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ ।
हामी व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व ।
यस वर्षको हरितालिका तीज बुधबारका दिन हस्ता नक्षत्रमा रहेको कारण पहिलो पटक व्रत बस्ने जो कोहिलाई पनि शुभ मानिएको छ । निर्जल वा निराहार व्रत बस्ने प्रचलन छ तीजको । तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ । कठोर व्रतले शरीर अनुसार हानी पनि गर्छ अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंमा प्रत्युत्पादक हुन्छ ।
सबैलार्इ तीजकाे शुभकामना ।
प्रकाशित समय १७:१३ बजे