गृहपृष्ठ नेपालको पर्यटनको मुख्य आधार नै बौद्धदर्शन : विज्ञ
नेपालको पर्यटनको मुख्य आधार नै बौद्धदर्शन : विज्ञ
नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना रहेको भन्दै विज्ञहरूले पर्यटन क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा विज्ञहरूले नेपालको पर्यटनको मुख्य आधार नै बौद्धदर्शन भएको बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवर्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने धारणा राखे । ‘भारतले ४० अर्बको परियोजना बौद्ध पर्यटनमा लगायो, अहिले त्यसैबाट आर्थिक प्रगति भएको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि उचित नीति बनाएर पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्छ, नतिजा चाँडै आउँछ ।’
विश्वविद्यालयका डिन माणिकरत्न शाक्यले बौद्ध दर्शनको विस्तारका लागि सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । विश्वविद्यालयका प्रमुख फणीन्द्र न्यौपानेले बौद्ध दर्शनको विस्तारका लागि विश्वविद्यालयलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे ।
पर्यटन व्यवसायी हेम विष्टले नेपालमा पर्यटकको गन्तव्य लुम्बिनी भए पनि पर्यटकलाई टिकाउन नसक्दा पर्यटन प्रवर्धन हुन नसकेको तर्क गरे । त्यस्तै, प्राज्ञ डा. ध्रुव पोखरेल, राजीव दाहाल र रमेशराज कुँवरले ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट विषयको पाठ्यक्रमबारे आआफ्ना प्रस्तुति राखेका थिए ।
विश्वविद्यालयले बौद्धदर्शनअन्तर्गत ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट विषय अध्यापन सुरु गरेकाले एक दिवसीय सेमिनारको आयोजना गरी सो विषयको पाठ्यक्रम तयार गर्न विज्ञहरूको सुझाव लिइएको विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्लेले जानकारी दिए ।
प्रकाशित समय ०७:०३ बजे











