गृहपृष्ठ भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ

भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ

सांकेतिक तस्बिर

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या प्रकरणमा महेन्द्रनगरबाट पक्राउ गरी एक जनालाई बैतडी लगिएको छ । सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै एक पुरुषलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ऐठपुरबाट पक्राउ गरी उनलाई बैतडी प्रहरीको जिम्मा लगाइएको छ ।

ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको प्रहरी स्रोत बताउँछ । पक्राउ परेका पुरुष भागरथीको हत्या भएको केही दिनपछि बैतडीबाट बिदामा महेन्द्रनगर आएका थिए । शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको स्रोतको दाबी छ । यद्यपि, उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ ।

यसअघि, कैलालीबाट समेत भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक शंकास्पद व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने सर्तमा छुटिसकेका छन् ।

दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्ट १४ दिनअघि माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धानको दायरा साँघुरिँदै गएकाले चाँडै संलग्नलाई सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु