गृहपृष्ठ युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या, अधिकांश लुकाउँछन्

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या, अधिकांश लुकाउँछन्

patheghar-newskarobar

लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्दिनथिइन् ।१३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बनेकी उनले चार सन्तान हुर्काइन् । सन्तान सँगसँगै रोग पनि हुर्किएको उनले थाहा पाइनन् । बेली भन्छिन्, ‘अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किंदै गएको रैछ ।’

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ? त्यही लाजका कारण पाठेघरको समस्या झन् विकराल हुँदै गएपछि जाँच गर्न आएको उनले बताइन् । ‘एकपटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ’ बेलीले भनिन्, ‘पाठेघर खस्ने गर्थ्यो, लाज लाग्यो, सेतोपानीमात्र बग्छ भनेर रोग लुकाएँ ।’

सिस्नेखोलाकी सुनिता रोका पनि पाठेघरको समस्या बोकेर शिविरमा आइन् । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भएकी छन् । ‘महिनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको,’ सुनिताले भनिन्, ‘डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भन्नुभएको छ ।’ पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किएकी छन् ।

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा. पुष्पा डाँगीले बताइन् । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन संघका प्रबन्धक वसन्त खनालले जानकारी दिए ।

‘नेपाल परिवार नियोजन संघले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउनु हुन्छ,’ प्रबन्धक खनालले भने, ‘पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।’ समस्या हुनु ठूलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको उनले बताए । ‘सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।’

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिने डा. डाँगीले बताइन् । शिविरमा आँखाका ९० बिरामी, दाँतका ४५, यौनरोगसम्बन्धी २२ र स्तनका दुई जना बिरामीको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन संघले बताएको छ ।

वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर सार्कीले जनाए । (रासस)

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु