गृहपृष्ठ प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न राष्ट्रपतिको जोड

प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न राष्ट्रपतिको जोड

rastrapati_bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो विकासको लागि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी समूह नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा हालै निमार्ण गरिएको लिफ्टको बिहीबार एक समारोहबीच उद्घटन गर्दै राष्ट्रपति भण्डारीले देशमा दीगो विकास र भावी पुस्ताको भविश्यको लागि पनि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न जोड दिएकी हुन् ।

प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संबर्द्धन गर्न सके देशमा दीगो विकास र भावी पुस्ताको भविश्य निमार्णको साथै पुण्य आर्जन हुने उनको भनाइ थियो । ‘धर्मको महत्वपूर्ण पक्ष भनेको सेवा हो,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धन गर्दै मानव हितका लागि धेरै कार्य गर्न सकिन्छ ।’

राष्ट्रपति भण्डारीले बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी लिफ्ट जडान गर्नु प्रशंसनीय कार्य भएको बताइन् । समितिको अभियानमा सहयोग गर्नलाई धन्यवाद दिँदै उनले ज्येष्ठ नागरिक, असक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी समितिले हालै सञ्चालनमा ल्याएको फिल्ट सेवाले पोखराको धार्मिक पर्यटनको समेत प्रबर्रद्धन गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिन ।

लिफ्टको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले विन्ध्यावासिनी मन्दिरमा पूजा आराधना समेत गरेकी हुन् ।

उक्त, अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी समुहका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरिन् ।

राष्ट्रपति पोखरा आउने भएपछि पोखरा विमानस्थलदेखि विन्ध्यवासिनी मन्दिरसम्म सुरक्षा व्यवस्था कडा पारिएको थियो । केही समय सडक अवरोध पार्दा वा विकल्पको सडकमा अन्यलाई पठाउँदा केही समय सास्ती भोग्नु परेको गुनासो गरेका थिए ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले समितिले निमार्ण गरेको लिफ्ट सेवा धार्मिक तिर्थस्थलहरु मध्यकै नमुना लिफ्ट सेवा सञ्चालन भएको बताए । धर्मले व्यक्तिलाई अनुशासन र विधि सिकाउने उनले जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा धार्मिक तथा सांस्कृतिक एवं पर्यटनको प्रचुर सम्भावना रहेको बताए । राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग धार्मिक एवं सांस्कृतिक पक्षलाई जोड्नुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले समितिले भएको सीमित श्रोतसाधनलाई अधिक रुपमा प्रयोग गरी मन्दिरमा उत्कृष्ट व्यवस्थापन गर्दै आएको जनाए । उनले पोखरालाई विश्वका १० उत्कृष्ट प्राकृतिक सहरमध्येको एक भएको दावी गरे ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले निर्माण गरेको उक्त मन्दिर निकै पुरानो र ऐतिहासिक भएको दावी गरे । उक्त मन्दिरले २४० वर्षको इतिहास बोकेको उनले जनाए । मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भएको थियो ।

करिब एक करोडको लागतमा ८ महिनामा उक्त लिफ्ट सेवा निमार्ण भएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । प्रदेश सरकारसँगको समन्वयमा समितिले वोरीङको पानी निकाल्ने तयारी गरेको छ भने समितिले मन्दिर परिसरमा संकलन भएको फोहोरलाई व्यावस्थापन गर्न कम्पोष्ट मल बनाउने भएको समितिले जनाएको छ ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु