गृहपृष्ठ सेयर बजार कहिलेसम्म बढ्छ ?

सेयर बजार कहिलेसम्म बढ्छ ?

सेयर बजारमा १० प्रतिशतसम्मको गिरावटलाई अमेरिकीहरु करेक्सन मान्छन् भने १० प्रतिशतभन्दा बढीले घटे बियरिस मान्छन् । यस्तै बियरिस बजारमा करेक्सन भई बजार १० प्रतिशतभन्दा बढीले बढे बुल सुरु भएको ठान्छन् । अमेरिकीहरुको मान्यतालाई आधार मान्ने हो भने अहिले हामी सेयर बजारको बुल साइडमा छौँ । २०७३ साउन १२ मा १८८८.३६ अंकको उचाइ बनाएको नेप्से परिसूचकले २०७५ फागुन ५ गते १०९८.९५ अंक छोएको थियो । यही न्यूनतम् विन्दुलाई आधार मान्ने हो भने अहिलेसम्म नेप्से ६२ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । १० भन्दा बढी प्रतिशतले बढ्दा बुल सुरु हुने मान्यतालाई विश्वास गर्दा सेयर बजार अहिले बुलमात्र नभई मस्त बुलमा चलिरहेको छ । यो अवधिमा कतिपय कम्पनीका सेयर मूल्य दोब्बर भए होलान्, कतिका तेब्बर, कतिमा सामान्य परिवर्तनमात्र देखियो होला । ब्याजदरमा आएको व्यापक गिरावट र प्राविधिक परिवर्तनसँगै कोरोनाभाइरसले खुम्च्याएका लगानीका अन्य विकल्पको सकारात्मक साथ पाएको सेयर बजारभित्रका पात्रमा भने बजार कहिलेसम्म बढ्छ भन्ने एक प्रकारको कुतूहल देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जका प्राविधिक परिवर्तनका पक्षबाट विश्लेषण गर्‍यौँ भने २०६० पछिका हरेक बुलको समयमा नेप्सेको कारोबार प्रणालीमा केही न केही सकारात्मक प्राविधिक परिवर्तन देख्न पाइन्छ । जुन बजार वृद्धिको एक महत्वपूर्ण आधार बन्ने गरेको छ । विश्व परिवेशको प्राविधि परिवर्तनको गतिका हिसाबले नेप्सेको परिवर्तन र गुणस्तरीयता शून्यकै तहमा रहे पनि नेप्सेको कारोबार हलबाट ब्रोकरको हात हुँदै लगानीकर्ताकै हातमा किनबेचको बटन आइपुगेको अहिलेको अवस्थामा नेप्से परिसूचकको नयाँ उचाइ अघिल्ला उचाइभन्दा निकै फरक हुनसक्ने सम्भावना रहन्छ । किनकि, यसपटक नेप्से परिसूचकमा लगानीकर्ताको आफ्नै हातले किनबेचका बटन थिचेको मनोविज्ञान मिसिएको छ, जुन ब्रोकरलाई आदेश दिएर गरिने कारोबारको मनोविज्ञानभन्दा बिल्कुलै फरक हुन्छ । आफैँ कारोबार गर्दा देखिएको उत्तेजनात्मक मनोविज्ञान अरु कोहीमार्फत गरिने कारोबारभन्दा बढी हुने गर्छ, जुन मनोविज्ञान र उत्तेजनाले बजारलाई माथि धकेल्नमात्र मद्दत गर्ने नभई उच्च उतारचढावयुक्त रेखाहरुको पनि निर्माण गराइरहेको हुन्छ ।

कोरोनाभाइरसका कारण विभन्न क्षेत्रमा भएको आर्थिक क्षतिको पुनः उत्थानका लागि नेपाल राष्ट्र बैंकले केही वर्ष ब्याजदर बढाउन प्रयास गर्ने छैन । विभिन्न क्षेत्रलाई प्रदान गरेको कम ब्याजदरको कर्जा सुविधाले वित्तीय क्षेत्रमा ब्याजदर घटाउन थप दबाब दिनेछ, जसका कारण उपभोक्ताले इतिहासकै न्यून ब्याजदरमा ऋणको उपभोग गर्न पाउने सम्भावना रहन सक्छ । यसको प्रत्यक्ष फाइदा सेयर बजार र यसका लगानीकर्ताले लिनेछन् । कोरोनाभाइरसका कारण विश्वमा अर्थतन्त्र तहसनहस हुँदा पनि प्रायः देशका सेयर बजारले ऐतिहासिक उचाइ कायम गर्नुका पछाडिका कारण पनि हरेक देशका सरकार र केन्द्रीय बैंकले लिएको शून्यकै तहको ब्याजदर नीति र अर्थतन्त्र बचाइराख्न सरकारले बाँडेको आर्थिक राहत नै हुन् ।

प्रायः देशका सेयर बजारले ऐतिहासिक उचाइ कायम गर्नुका पछाडिका कारण पनि हरेक देशका सरकार र केन्द्रीय बैंकले लिएको शून्यकै तहको ब्याजदर नीति र अर्थतन्त्र बचाइराख्न सरकारले बाँडेको आर्थिक राहत नै हुन् ।

बैंकिङ क्षेत्रमा अहिले पैसामा सेल लागेको छ । ऋणीले भारी छुटसहितको ब्याजदरमा पैसा उपयोग गर्न पाएका छन् । बचतमा ब्याज खाएर जीविको गर्न चाहनेका लागि अहिलेको अवस्था पीडादायी भए पनि ऋण लिएर व्यवसाय वा लगानी गर्नेका लागि उत्साहजनक छ । पैसा बचाएर राख्नेको भन्दा सेयर बचाएर राख्नेका दिन आएका छन् । जब पैसामा सेल लाग्छ, सेयर महँगो बन्दै जान्छ । पैसा महँगो हुँदै जाँदा सेयरमा सेल लाग्दै जान्छ । आजभन्दा एक वर्षअघिको पैसाको लागत र अहिलेको लागतमा ठूलै गिरावट आएको छ । एक वर्ष अघिको सेयरको मूल्य र आजको मूल्यमा धेरै अन्तर भइसकेको छ । गन्तव्यमा पुग्न पहाड उक्लने क्रममा हामीले निकै उचाइ पार गरिसकेका छौँ ।

सेयर बजारमा हरेक बुलको आधार ब्याजदर नै बन्ने गरेको छ । यसपटकको बुललाइ पनि कम्पनीका आकर्षक प्रतिवेदनभन्दा ब्याजदर, प्राविधिक परिवर्तन र विश्वव्यापी कोरोनाभाइरसका कारण खुम्चिएको लगानीका अवसरले पर्याप्त आधार प्रदान गरेको छ । बजारको घटाइभन्दा बढाइमा गति त्यसै पनि कम हुन्छ । तर पनि बुल सुरु भएपछि अघिल्ला उचाइहरु पार नगरी बुल सकिँदैन । विगतका तथ्यांकलाई हेर्ने हो भने हरेक पटकको बुलमा नेप्सेले नयाँ उचाइ बनाएको छ । चाहे २०६५ मा होस् वा २०७३ मा । बजारमा अहिले नेप्सेका जुन अंक देखिरहेका छौँ, ती पहिल्यै देखिइसकेका अंक हुन् । नयाँ अंक देख्न बाँकी नै छ । ती अंकहरु अघिल्लो बुलको उच्चतम् विन्दुभन्दा माथिका हुनेछन् र बिल्कुलै नयाँ हुने छन् । त्यो बुलमात्र नभई सुपर बुल हुनेछ ।

नेपालको सेयर बजारको बुल र बियरको चक्रको विश्लेषण गर्ने हो भने न्यूनतम् विन्दुबाट बढ्न सुरु गरेपछि पाँच वर्षसम्म बढेको वा बुलिस ट्रेन्डमा रहेको र अढाइदेखि तीन वर्षसम्म घटेको वा वियरिस ट्रेन्डमा रहेको पाइन्छ । उदाहरणका लागि २०६० यताको बजार हेरेमा २०६५ सम्म बढेको छ । त्यसपछि २०६८ सम्म घटेको छ । २०६८ पछि पुनः २०७३ सम्म बढेको छ र त्यसपछि २०७५ सम्म घटेको छ । र, त्यसपछि बढ्न सुरु गरेको छ ।

सेयर बजारमा एउटा भनाइ छ– विगतको नतिजाले भविष्यको ग्यारेन्टी गर्दैन । हिजो के भयो वा कम्पनीले कति नाफा वितरण गर्‍यो भन्नेले भोलिका दिनमा वितरण गर्ने नाफाको ग्यारेन्टी गर्दैन त्यो त रिफरेन्समात्र हो । आजको मूल्य वा आज हामीले तिर्न चाहेको मूल्य भनेको भविष्यमा प्राप्त हुनसक्ने वा भविष्यमा कम्पनीले कमाउन सक्ने सम्भावित प्रतिफलका आधारमा हुने गर्छ ।

सेयर बजारमा अर्को मान्यता पनि छ– इतिहास दोहोरिन्छ भन्ने मान्यता । नेप्सेको बुल र बियरका तथ्यांकलाई हेरेर विगत दोहोरिने कुरामा विश्वास गर्ने हो भने अहिले चलिरहेको बुलिसको अवधि पनि पाँच वर्षको हुने अनुमान गर्न सकिन्छ र उक्त पाँच वर्ष अवधिको करिब दुई वर्ष हामीले बिताइसकेका छौँ । तीन वर्ष अझै बाँकी छ । लगानीकर्ताले नेप्सेका अंक कति पुगेमात्र होइन, हामीले बुलको कति समय बिताइसक्यौँ र पैसाको लागत के भइरहेको छ भन्ने पनि थाहा पाउँदै जानुपर्ने हुन्छ ।

कारोबारी हुनुहुन्छ र कारोबार नै तपाईंको प्रमुख उद्देश्य हो भने यो चक्रको कुनै अर्थ र महत्व छैन तर दीर्घकालीन लगानी गरेर सेयर होल्ड गर्ने अवधि गणनाको महत्वपूर्ण आधार लगानी चक्र नै हो भने पैसा बनाउनका लागि अझै तीन वर्ष समय बाँकी छ । निर्णय तपाईंको ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयरको मूल्य घट्न नदिन ‘कर्मचारी सेयर खरिद योजना’

प्रकाशित समय ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु