गृहपृष्ठ सेयर बजार ह्वात्तै बजार बढ्नुको कारण के ? कहाँबाट आयो पैसा ?

सेयर बजार ह्वात्तै बजार बढ्नुको कारण के ? कहाँबाट आयो पैसा ?

सेयर बजार परिसूचक नेप्से उच्च गतिमा बढ्न थालेसँगै कारोबार रकममा उच्च वृद्धि हुन थालेको छ । बिहीबारमात्रै ७ अर्ब ६१ करोडभन्दा बढीको सेयर किनबेच भएपछि यति धेरै पैसा कहाँबाट आयो ? चर्चाको विषय बनेको छ ।

नेपालको सेयर बजारको दैनिक क्षमता ५ अर्बमाथि पुगेको अनुमान विगतदेखि नै हुन नथालेका होइनन् । तर, व्यावहारिक रुपमै देखिन थालेपछि नेप्सेको वृद्धिसँगै कारोबार रकमको भोल्युम चर्चाको विषय बन्न थालेको हो ।

कात्तिक २३ गते १६३६ अंकबाट कारोबार खुलेको सेयर बजार मंसिर ११ गतेसम्म आइपुग्दा १८९३ अंकमा उक्लिएको छ । अर्थात्, जम्मा १३ कारोबार दिनमा २५७ अंकले नेप्से परिसूचक बढेको छ । बजार निरन्तर बढिरहेको मात्र छैन, कारोबार रकममा अप्रत्यासित अंक देखिन थालेका छन् । विगतमा पाँच दिनमा बल्ल एक अर्बको कारोबार हुने गरेको बजारमा यो साता ३१ अर्ब ५४ करोडको सेयर किनबेच भयो ।

कोरोनाभाइरस महामारीका कारण लगानीका क्षेत्र संकुचन भएपछि बैंकिङ क्षेत्रमा बढेको उच्च तरलतासँगै घटेको ब्याजदर सेयर बजार वृद्धिको मूल आधार बनेको छ । त्यसमा प्राविधिक परिवर्तन अनलाइन कारोबार ‘उत्प्रेरक’ बनेको छ । बजार विश्लेषक रविन्द्र भट्टराई बजार वृद्धिको मुख्य आधार न्यून ब्याजदरसँगै प्राविधिक परिवर्तन र कोरोना भएको बताउँछन् ।

कहाँबाट यो यति धेरै पैसा ?

नेपालमा अनौपचारिक अर्थतन्त्रको हिस्सा निकै ठूलो रहेको अनुमानका बीच सेयर बजारमा पैसा कहाँबाट आयो ठ्याक्कै भन्न सकिन्न । ब्याजदर ‘सिंगल डिजिट’मा स्थिर रहे पनि कोरोनाभाइरस महामारीका कारण आयात व्यापार र अन्य क्षेत्रको कर्जा प्रवाह संकुचित भएपछि आत्तिएका बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा मार्जिन लोन दिन थालेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सेयर बजारमा वित्तीय क्षेत्रबाटै ठूलो परिमाणमा कर्जा प्रवाह भएको पाइएको छ ।

पहिलो त्रैमासिक अवधिमा मात्रै मार्जिन लोन १८ प्रतिशतले बढेको छ । गत असारसम्ममा ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ रहेको मार्जिन लोन तीन महिनाको अवधिमा असोज मसान्तसम्ममा ५९ अर्ब ४० करोड २७ लाख रूपैयाँ पुगेको छ । त्यसयताको तथ्यांक आइनसके पनि कात्तिक र मंसिर पहिलो सातासम्ममा झनै ठूलो परिमाणमा मार्जिन लोन प्रवाह भएको अनुमान भइरहेको छ ।

अघिल्लो वर्ष बजार सुस्त भएको र ब्याजदर उच्च भएकाले मार्जिन लोन डिमान्ड हुन सकेको थिएन । आव २०७५/७६ को असार मसान्तसम्ममा मार्जिन लोन ४५ अर्ब ४१ करोड रुपैयाँ थियो भने असोजसम्ममा ४५ अर्ब ३१ करोडमा झरेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार तीन महिनामै ८ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मार्जित लोन प्रवाह भएको छ । जसमा एक करोडभन्दा माथिको लोनको हिस्सा सबैभन्दा बढी छ । एक करोडभन्दा माथिको लोनको हिस्सा कुल लोनको २२.५ प्रतिशत अर्थात् ७ अर्बभन्दा बढी छ । तीन महिनाको अवधिमा ५० देखि १ करोडसम्मको लोन ४० करोड ११ लाख, २५ देखि ५० लाखसम्मको लोन १ अर्ब ३५ करोड ५७ र २५ लाख रुपैयाँभन्दा कमको मार्जिन कर्जा १६ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ ।

कुल मार्जिन कर्जामा १ करोडभन्दा माथिको कर्जा ३८ अर्ब ६१ करोड ४४ लाख रुपैयाँबराबर छ । त्यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा ६ अर्ब ९० करोड ४३ लाख, २५ लाखदेखि ५० लाखसम्मको कर्जा ८ अर्ब ७३ करोड ७८ लाख र २५ लाखभन्दा कमको कर्जा ५ अर्ब १४ करोड ६२ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

अर्कोतर्फ कोरोनाभाइरस महामारीका कारण आयात व्यापार प्रभावित भएको छ । नेपालको आयात व्यापारमा खर्च हुने रकम वार्षिक १४ खर्ब १८ अर्ब पुगेकोमा अहिले ११ खर्ब ९६ अर्बमा झरेको छ । अर्थात् वार्षिक २ खर्बबराबर पैसा व्यापारमा गएको छैन । यो पैसाको ठूलो हिस्सा पनि सेयर बजारमा घुमिरहेको अनुमान गरिएको छ ।

गत वर्ष साउनदेखि असोजसम्ममा आयात व्यापारमा ३ खर्ब ३५ अर्ब खर्च भएकोमा अहिले २ खर्ब ९२ अर्बमा झरेको छ । तीन महिनामा आयात व्यापारमा खर्च हुने करिब ४२ अर्ब ६७ करोड रुपैयाँको ठूलो हिस्सा सेयर बजारमा गएको अनुमान भएको हो । कात्तिक र मंसिरको पहिलो सातामा पनि आयात व्यापारका लागि एलसी खोल्ने क्रममा खासै उत्साह नदेखिएको बैँकरहरू बताउँछन् ।

कोरोना महामारीका कारण वैदेशिक आवागमन रोकिएसँगै हुन्डी कारोबार पनि ठप्प छ । हुन्डीमार्फत बाहिरिने ठूलो पैसा पनि अहिले सेयर बजारमा आएको कतिपयको विश्लेषण छ ।

अनियमितताको शंका

बजारमा केही निश्चित कम पुँजी भएका कम्पनीको मूल्य अप्रत्यासित ढंगले बढेपछि अनियमितताको आशंका भएको छ । सेयर बजारमा धेरै किसिमका अनियमितता हुने गर्छन् । सट्टेबाजहरूले आफैँ‑आफैँबीचमा सेयर किनबेच गरेर धेरै कारोबार भएको देखाउने, मूल्यवृद्धि गर्ने र अन्य लगानीकर्ता आकर्षित गर्ने गर्छन्, यसलाई ‘पुलिङ’ भनिन्छ । कतिपयले समूह बनेर थोरै चुक्ता पुँजी भएको कम्पनीको ठूलो हिस्सा सेयर नियन्त्रणमा राखेर अभाव सिर्जना गराई मूल्य बढाउने गर्छन्, यसलाई भण्डारीकरण (कर्नरिङ) भनिन्छ ।

अहिले पनि सेयर बजारमा यस्तै खालका अनियमितता भइरहेको अनुमान गरिएको छ । थोरै सेयर भएका कम्पनीहरूको मूल्य १०‑१२ कारोबार दिनमै दोब्बर र तेब्बरसम्म बढ्नुले अनियमितता प्रस्ट भएको देखिने भए पनि नियामक धितोपत्र बोर्डले बेवास्ता गरिरहेको लगानीकर्ताको आरोप छ । अहिले १३ कारोबार दिनमा अढाइ सय अंकभन्दा धेरैले परिसूचक बढ्दा बैंकिङ समूहको सेयर मूल्य वृद्धि भने निकै सुस्त छ । बैंकहरूको चुक्ता पुँजी ८ अर्बभन्दा बढी भएकाले अनियमितता गर्न त्यति सहज हुँदैन ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा कसरी हुन्छ अनियमितता ? बच्न के गर्ने ?

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु