गृहपृष्ठ कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई

कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई

यी हुन् नेपालका 'टप टेन' बैंकहरू

Bank Size_NewsKarobar

पुँजीकोषका आधारमा सरकारी स्वामित्वको कृषि विकास बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ भने निजी क्षेत्रका बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक अग्रणी स्थानमा रहेको नेपाल राष्ट्र बैंकको एक तथ्यांकीय विश्लेषणले देखाएको छ ।

राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात अनुगमन/मूल्यांकन प्रयोजनका लागि तयार पारेको बासेल-थ्रीको एक विवरणअनुसार गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल पुँजीकोषका आधारमा कृषि विकास बैंक सबैभन्दा ठूलो वाणिज्य बैंकका रूपमा रहेको पाइएको हो । यो बैंकको कुल पुँजीकोष ३१ अर्ब ३८ करोड रूपैयाँ नाघेको छ ।

बैंकहरूको कुल चुक्ता पुँजी, सम्पत्ति र अन्य लगानीका लागि उपलब्ध स्रोतमा दायित्व घटाएर बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात निकालिन्छ । पुँजीकोष बढी भएको बैंकको लगानी क्षमता पनि बढी हुन्छ ।

यसैगरी, कुल पुँजीकोषका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ, गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा यो बैंकको कुल पुँजीकोष २८ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ । जनता बैंकलाई गाभ्नुका साथै आक्रामक रणनीति अख्तियार गर्दै आएको ग्लोबल आइएमईले आफ्नो पुँजीकोष बढाउँदै लगेको उसको वार्षिक प्रतिवेदनबाट देखिन्छ ।

यस्तै, तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको पुँजीकोष २६ अर्ब ८० करोड रूपैयाँबराबर छ भने चौथो स्थानमा रहेको नबिल बैंकको पुँजीकोष २२ अर्ब ५० करोड रूपैयाँ छ ।

एनआईसी एसिया बैंक २२ अर्ब ३२ करोड रूपैयाँको पुँजीकोषसहित पाँचौँ स्थानमा छ भने एनएमबी बैंक २१ अर्ब २१ करोड रूपैयाँको चुक्ता पुँजीसहित छैठौँ, २० अर्ब ९१ करोडको पुँजीकोष भएको नेपाल बैंक सातौँ, २० अर्ब ७१ करोड पुँजीकोष भएको राष्ट्रिय वाणिज्य बैंक आठौँ, १८ अर्ब ८६ करोड रूपैयाँको पुँजीकोषसहित प्राइम कमर्सियल बैंक नवौँ र १८ अर्ब ८४ करोड रूपैयाँको पुँजीकोष भएको सिद्धार्थ बैंक दसौँ स्थानमा छ ।

कम चुक्ता पुँजीसहित अन्य कोष परिचालनमा समेत कमजोर रहेका सेन्चुरी कमर्सियल बैंक र सिभिल बैंक समग्र पुँजीकोषका आधारमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरूको सूचीमा पुछारमा छन् ।

 

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु