गृहपृष्ठ सेयर बजारमा एउटा गल्तीले गुम्यो ८ लाख ८० हजार

सेयर बजारमा एउटा गल्तीले गुम्यो ८ लाख ८० हजार

केही दिनअघि एक जना दाइको फोन आयो‑ डीआर ! के छ खबर ?

ठिक छ दाइ‑ मैले भनेँ ।

जस्तोसुकै अफ्ठ्यारोमा भए पनि ‘ठिक छ’ भन्ने हाम्रो बानी नै हो । कोरोनाले बेहाल बनाएको विषयमा प्रवेश गरिएन ।

बेलुका करिब ९ बजेको थियो । ‘म धेरै डिस्टर्ब गर्दिन है’ भन्दै उहाँ सिधै मुद्दामा प्रवेश गर्नुभो‑ तीनवटाको खुलेको छ, कति‑कति कित्ता हाल्दा ठिक होला ?

तीनवटा कम्पनी लिबर्टी इनर्जी, समाज लघुवित्त र रिलायन्स इन्स्योरेन्सको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिन ‘मेरोसेयर’ लगइन गरेर कल गर्नुभार’छ ।

मैले भरिसकेको थिएँ । तेस्रो दिन बितिसकेको थियो । बिक्री प्रबन्धकसँग बुझ्दा परिहाले पनि १० कित्ताभन्दा बढी नपर्ने हिसाबकिताब दिउँसै गरिसकेको थिएँ ।

मैले सोच्दै गर्दा उहाँले आफ्नो अनुमान व्यक्त गर्नुभयो‑ पैसा छँदैछ, सबैमा ५०० कित्ताका दरले हालौँ ?

‘पर्दैन दाइ, १० कित्ताभन्दा बढी पर्दैन, त्यति धेरै मन गर्नुभा’छ, ५० कित्ता हाल्नु न !’ मैले हाँस्दै भनेँ ।

‘हो र ! १०० कित्ता हाल्छु त्यसो भए,’ उहाँले पनि हाँस्दै भन्नुभयो ।

०००

‘अरु के छ खबर ?’ उहाँले थप्नुभयो ।

‘कोरोना नयाँ कुरा रहेन दाजु । वर्क फ्रम होम छ, स्वास्थ्य ठिक छ ।’ छोटकरीमै भनेँ ।

‘तपाईंको नि ?’

‘मेरो पनि ठिक छ ।’

‘मेरा कम्पनीले बीचमा के‑के बाँडे कोनि थाहा पनि भएन, साह्रै व्यस्त भइयो, हेरिएन,’ उहाँले थप्नुभयो ।

उहाँको पोर्टफोलियोबारे म पहिल्यैदेखि अवगत थिएँ ।

भनिहालेँ, ‘शिखर इन्स्योरेन्सको हकप्रद भर्नुभयो होला, अरु त आएजस्तो लाग्दैन ।’

उहाँ झस्किनुभो, ‘ला ! हो र ! कहिले ?’

दाइले हकप्रद किन्न छुटाएकोमा कुनै अन्योल बाँकी रहेन ।

कुरा गर्दागर्दै ‘मेरोसेयर’ लगइन गरेँ । हटिसकेको रहेछ । गुगल गरेँ । बन्द मिति साउन ४ गते रहेछ । सुनाएँ ।

‘हैट ! बर्बादै भएछ ।’

मलाई थाहा थियो, उहाँसँग शिखर इन्स्योरेन्सको २ हजार २०० कित्ता सेयर थियो । शिखरले १०:३ अनुपातमा हकप्रद जारी गरेको थियो । दोस्रो बजारमा प्रतिकित्ता १ हजार २०० भन्दा बढी रहेको सेयर १०० रूपैयाँमा किन्ने अवसर गुमेको थियो । कुरा गर्दागर्दै हिसाब गरेँ‑ सय रुपैयाँका दरले ७३३ कित्ता गुमेछ । बजार मूल्यले भाग गर्दा करिब ८ लाख ८० हजार निस्कियो ।

एउटा गल्तीले उहाँको ८ लाख ८० हजार सम्पत्ति गुमेको थियो । दुवै जनाबाट थक्क‑थक्क व्यक्त भयो । छोटो भनेको कुराकानीले करिब १० मिनेट लियो ।

०००

फोन राखिसकेपछि सोचेँ । कसको गल्तीले गुम्यो ८ लाख ८० हजार रुपैयाँ ? उत्तर सहज थियो‑ लगानीकर्ताको ।

यही बीचमा सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले केही दिनअघि लेखेको लेख सम्झिएँ‑ ‘वाह ! सेयरको डिम्याट खाता यस्तो भए पो !’

ल्यापटप खुलै थियो । खोजेर त्यो लेख पढेँ । ४ नम्बर बुँदामा लेखिएको थियो‑

‘हकप्रद निष्कासनका सूचना पत्रिकामा प्रकाशित हुन्छन् । अनलाइनमा पनि हेर्न सकिन्छ । मेरो सेयर लगइन गरेर आवेदन दिन पनि सकिन्छ तर त्यसका लागि कुन कम्पनीले हकप्रद सेयर जारी गर्‍यो भनेर डिम्याट खाता बारम्बार चिहाइरहनुपर्छ । कुनै कम्पनीले हकप्रद सेयरको आवेदन खोलेमा सिडिएसले मेरो सेयरमा राख्नासाथ त्यो कम्पनीको सेयर हुनेलाई मात्र वा सबै खातावालालाई हकप्रदको अनुपात, खुलेको मिति र भर्ने अन्तिम मितिसहितको छोटो विवरण स्वतः इमेलमा जाने बनाउन आवश्यक छ । जसले सेयरधनीको सम्पत्तिको सुरक्षा गर्न, हकप्रद सेयर रिनाउन्समा बिक्री प्रबन्धकले गर्ने अनियमितता कम गर्न र कम्पनीलाई पैसा उठाउन पनि सहज हुन्छ ।’

यो पढिसकेपछि लाग्यो‑ ८ लाख ८० हजार गुम्नुमा ‘दाइ’को मात्र दोष थिएन । सिडिएस एन्ड क्लियरिङको पनि दोष थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दोष थियो । अनि पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको पनि दोष थियो ।

इमेलमा उल्लिखित जानकारी आउने व्यवस्था मिलाइएको भए लगानीकर्ताको सम्पत्ति गुम्ने थिएन । अहिले कुनै ‘दाइ’को सम्पत्ति गुमेको छ, कुनै दिन आफ्नो पनि गुम्न सक्छ । हामी निकै व्यस्त भइसकेका छौँ । सबै कुरा सम्झेर साध्य पनि लाग्दैन । हरेक समय वेबपेज खोलेर सूचना लिने अथवा फोन गर्ने समय पनि नहुन सक्छ । आईपीओ भरिरहने मानिससँग २०‑२५ वटा कम्पनीको सेयर हुनसक्छ । लामो समय राख्छु भन्नेसँग पनि धेरै कम्पनीको ठूलो मूल्यको सेयर हुनसक्छ । जसरी किनिएको होस् या हजारौँ, लाखौँ या करोडौँ मूल्यको सेयर होस् पुँजीबजारमा हरेकको उपस्थिति महत्वपूर्ण हुन्छ ।

यसलाई मध्यनजर गरेर सेवाप्रदायक संस्थाले प्रविधिको अधिकतम प्रयोग गर्नु श्रेयष्कर हुन्छ र यसको मुख्य टुल भनेकै क्यालेन्डर, मोबाइल एप, इमेललगायत नै हुन् । सिडिएसका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पूर्णप्रसाद आचार्य, नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउद र नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सुन्दा सामान्य लाग्ने यी काम तत्काल सुरु गरून् ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु