गृहपृष्ठ सेयर बजारका डरलाग्दा चार (४) अवस्था

सेयर बजारका डरलाग्दा चार (४) अवस्था

सेयर किन्यो बेच्यो । ब्रोकरलाई पैसा दियो । बेचेपछि ब्रोकरबाट पैसा लियो । नगद लाभांश बैंक खातामा आउँछ । बोनस सेयर डिम्याट खातामा आउँछ । न लिन जाने झन्झट न त समय लाग्ने । यस्तै प्राथमिक बजारमा पनि सेकेन्ड भरमा मेरो सेयरबाट आवेदन दिन सकिन्छ । सेयर परे पैसा खाताबाट जाने, नपरे पैसा रोक्का फुकुवा हुने । यसो हेर्दा सेयर बजारमा सबै ठिकठाकै छ जस्तो लाग्छ । तर, अलिक फरक तरिकाले हेर्ने हो भने सबै ठिक छैन । हामी निकै डरलाग्दो अवस्थामा छौँ । नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस कम्पनी आँखामा पट्टी बाँधेर बसेका छन । कानमा रुवा खाँदेर बसेका छन् । के हुन् त्यस्ता डरलाग्दा अवस्था जसले लगानीकर्ताका पाइला‑पाइलामा जोखिम बढाएको छ ।

डरलाग्दो नम्बर

साउन १३ गते नेपाल स्टक एक्सचेन्जले वेबसाइट र कारोबार सिस्टमका बारेमा एउटा अत्यन्तै लाजमर्दो र जवाफदेहिताविहीन विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा भनिएको थियो‑ नेप्सेको वेबसाइटबाट विभिन्न कोड प्रयोग गरेर डेटा तान्नेहरुका कारण वेबसाइटमा कारोबार विवरण ढिला देखिने, नदेखिने, ह्याङ हुने समस्या आएको छ । यसबाट के प्रस्ट हुन्छ भने नेप्सेको साइट, यसका तथ्यांक तथा कारोबार सिस्टम सुरक्षित र विश्वासनीय छैनन् । जुन नेप्से आफैँले स्वीकार गरेको छ । यसको तथ्यांक तथा सिस्टम कुनै पनि सेक्युरिटी सुरक्षा प्रणालीबाट सुरक्षित गरिएको छैन । हरेक संवेदनशील तथ्यांकसम्बन्धी वेबसाइटको सुरक्षाका लागि कि आफ्नै वा अन्य संस्थाबाट सुरक्षाको प्रत्याभूति गरिएको हुन्छ । तर, नेप्सेको साइटमा यो प्रत्याभूत गरिएको कुनै जानकारी छैन ।

यस्तै अनधिकृत रुपमा कोड प्रयोग गरी डेटा तान्नेहरुले सजिलै सेयर मूल्यहरु परिवर्तन गरिदिन सक्छन् । कारोबार रकम परिवर्तन गरिदिन सक्छन् । परिसूचक परिवर्तन गरदिन सक्छन् । कारोबार प्रणालीमा हामीले राखेको आदेश परिवर्तन गरिदिन सक्छन् । आदेशको पालो परिवर्तन गरिदिन सक्छन् । यसैले हामीले कारोबार सिस्टममा देखिएका मूल्यमा शंका गर्नुपर्ने अवस्था छ । फ्लोर सिटको सत्यतामा शंका गर्नुपर्ने अवस्था छ । नेप्से परिसूचकमा शंका गर्नुपर्ने अवस्था छ । यसका कर्मचारी र यीनको व्यवहारमा शंका गर्नुपर्ने अवस्था छ । उदाहरणका लागि नेप्सेको लाइभ कारोबार विभिन्न अनलाइनले लामो समयदेखि दिइरहेका छन् । त्यसको आधिकारिकता के हो ? विश्वासनीयता के हो ? के ती तथ्यांक र प्रसारण लगानीकर्ताले विश्वास गर्न लायक छन् ? के नेप्सेले आधिकारिक रुपमा दिएको हो वा नेप्सेले भने जसरी अनधिकृत रुपमा तानिएर प्रसारण गरिएको हो ? त्यो लगानीकर्ताले थाहा पाउन जरुरी छ । नेप्सेले अहिलेसम्म यसका बारेमा कुनै जानकारी दिएको छैन । यी संस्थासँग आधिकारिक रुपमा व्यावसायिक सम्झौता गरी सुरक्षाको प्रत्याभूतिसहित प्रसारण गरिएको भए नेप्सेले त्यसको जानकारी लगानीकर्तालाई गराउनुपर्छ । होइन भने अनधिकृत र विश्वासहीन प्रसारण तत्काल बन्द गर्नुपर्छ ।

नेप्सेले लगानीकर्तालाई कुनै जानकारी दिँदैन भने डेटा तथा कारोबारको प्रत्यक्ष प्रसारणको कोड सेयररिङ गरेबापत नेप्सेको कुनै विभाग, कर्मचारी वा व्यवस्थापनले गोजी खर्च त पाइरहेको छैन ! भन्ने बजारले शंका गर्नुपर्ने हुन्छ।

डरलाग्दो अवस्था

हरेक लगानीकर्ताले सेयर बजारका विभिन्न निकाय जस्तैः ब्रोकर, मर्चेन्ट बैंक, सिडिएस र पोर्टफोलियो व्यवस्थापकलाई दिएका व्यक्तिगत विवरण सुरक्षित र गोप्य हुनु पर्छ । जस्तैः नाम, थर, ठेगाना, जन्ममिति, डिम्याट खाता नम्बर, बैंक खाता नम्बर, सेयर कारोबार खाता, कारोबार विवरण, लगानी रकम, इमेल, नागरिकता, प्यान नम्बर, बैंक खाता नम्बर आदि व्यक्तिगत विवरण हुन् । यस्ता विवरणलाई अति संवेदनशील र कम संवेदनशील गरी दुई भागमा विभाजन गरिन्छ । तर, नियामक निकाय धितोपत्र बोर्डले अहिलेसम्म लगानीकर्ताको व्यक्तिगत विवरणलाई यसको संवेदनशीलताका आधारमा न वर्गीकरण गरेको छ न त यसको सुरक्षासम्बन्धी कुनै कानुन नै बनाएको छ । सेयर बजारको नियामकको हैसियतले लगानीकर्ताका अति संवेदनशील विवरण सुरक्षा गर्नुको साटो प्राथमिक निष्कासनमा लगानीकर्ताले आवेदन दिएको डिम्याट खातासहितको विवरण निजी अनलाइनलाई पेन ड्राइभमा दिन सिडिएस कम्पनी, मर्चेन्ट बैंकलाई स्वीकृति दिइरहेको छ ।

ती संस्थामा कारोबार गर्ने कर्मचारीलाई ती विवरणको गोपनीयता नराखेबापत दण्ड जरिवाना गरिने कानुन हामीकहाँ छैन ।

व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयतासम्बन्धी कानुन अभावको अर्को खतरा कुनै पनि लगानीकर्ताले ब्रोकर कम्पनीमा गरेको कारोबार, उसको पोर्टफोलियो, त्यस्तै लगानी व्यवस्थापन कम्पनीले व्यवस्थापन गरेको लगानीकर्ताको विवरण सहजै जो कोहिमा पुग्न सक्नेछ । किनकि ती संस्थामा कारोबार गर्ने कर्मचारीलाई ती विवरणको गोपनीयता नराखेबापत दण्ड जरिवाना गरिने कानुन हामीकहाँ छैन । उदाहरणका लागि आज कसैले कुनै कम्पनीको १० हजार कित्ता सेयर किन्यो भने क्षणभरमै त्यो व्यक्तिका बारेमा विभिन्न अनलाइनमा समाचार आइसक्छ । फ्लोर सिटबाट कुन ब्रोकरले किन्यो वा बेच्यो भन्ने थाहा भए पनि व्यक्ति वा संस्था थाहा हुँदैन । तर, ती विक्रेता र क्रेतासहितको नाम बाहिरिसकेको हुन्छ । लगानीकर्ताको विवरणको कुनै गोपनीयता छैन । यी विवरण उसका प्रतिस्पर्धी, झगडिया मिडिया वा अन्य व्यक्तिकहाँ पुग्ने, चोरिने वा बेचिने खतरा देखिन्छ । यसैले कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत विवरणको गोपनीयतासम्बन्धी निर्देशिका तत्काल जारी गर्नुपर्ने हुन्छ, अन्यथा धितोपत्र बोर्डमा क्षतिपूर्तिसहितका दाबीका चाङ लाग्नेछन् ।

डरलाग्दो अवस्था

सेयर बजारमा अर्को महत्वपूर्ण कुरा सूचना र सूचनाको स्रोतको विश्वासनीयता हो । इन्टरनेटमा भएका छरपष्ट सबै सूचना र समाचारको विश्वासनीयता हुँदैन । कम्पनीले जारी गर्ने विज्ञप्ति १० वटा अनलाइन या पत्रिकाले १० प्रकारले छापेका हुन्छन् । लगानीकर्ताले कुनलाई विश्वास गर्ने भन्ने हुन्छ । नेप्से स्वयंले कतिपय अवस्थामा सही तरिकाले वेबसाइटमा कम्पनीका सूचना सम्प्रेषण गरेको हुँदैन । यसैले कम्पनीका सूचनाको सही सम्प्रेषणका लागि हालसम्म हामीकहाँ एकीकृत सूचना प्रणाली छैन ।

एकीकृत सूचना प्रणाली त्यो हो, जसमा हरेक सूचीकृत कम्पनीले जारी गर्ने सूचना नियामक निकायले विकास गरेको एउटै बेवसाइटमार्फत जारी गर्ने गरिन्छ । र, सूचना चाहने लगानीकर्ता, अनुसन्धानकर्ता, विश्लेषक र मिडियाले चाहेको कम्पनीको चाहेको सूचना लिन सक्छन् । यसमा कम्पनीका वर्षौंदेखिका सूचना राखिएको हुन्छ, जसमा विश्वासनीयता हुन्छ, आधिकारिकता हुन्छ । जसका आधारमा लगानीकर्ता वा अनुसन्धानकर्ताले विश्वसनीय अनुसन्धान गर्न सक्छन् । विगतका सूचना लिन सक्छन् । तर, धितोपत्र बोर्डले २८ वर्ष पुगिसक्दा पनि यस्तो प्रणालीको विकास गरेको छैन । जसका कारण लगानीकर्ता क्षण‑क्षणमा गलत सूचनाको सिकार बन्नुपरेको छ भने कम्पनीका चाहेका सूचना चाहेको समयमा सबै पाउन पनि सकेका छैनन् । चाहिएका सूचना लिन लगानीकर्ता हरेक कम्पनीको वेबसाइटमा पुग्नुपर्छ । कतिपयको वेबसाइटसमेत छैन । कतिपयले सबै सूचना राखेका पनि हुँदैनन् । तर, धितोपत्र बोर्ड र नेप्से लगानीकर्ताबाट उठाएका कमिसन बैंकको मुद्धति निक्षेपमा राखेर बसेका छन् । खर्च गरे बोर्ड र नेप्सेको नाफा घट्न गई कर्मचारीले पाउने बोनस कम हुने डरले यी ग्रस्त देखिन्छन् ।

डरलाग्दो अवस्था

सेयर बजारको अर्को डरलाग्दो र जोखिमपूर्ण अवस्था सेयर ब्रोकर तथा पोर्टफोलियो व्यवस्थापकलाई दिएको वा लिनुपर्ने पैसाको सुरक्षा हो । अत्यन्तै सानो पुँजी लगाएर सेयर कारोबारको सुविधा दिइरहेका यी संस्थाहरुको दिनदिनै जसो कारोबार रकम बढिरहेको छ । जुन हामी नेप्सेको बढ्दो दैनिक कारोबार रकमबाट पनि देख्न सक्छौँ । सानो पुँजी भएका यी संस्थामा सम्पत्ति तथा नेटवर्थका आधारमा भन्दा पनि विश्वासका आधारमा बढी कारोबार भएको छ । विश्वास दुर्घटना भएको केही क्षण अघिसम्म कायम रहन्छ, दुर्घटना भएपछि विश्वास सकिन्छ । सेयर ब्रोकर वा पोर्टफोलियो व्यवस्थापक टाट पल्टिए वा वित्तीय समस्यामा परे लगानीकर्ताले सेयर किन्न दिएको वा सेयर बेचेर पाउन बाँकी पैसा वा तिनले व्यवस्थापन गरेको पोर्टफोलियो डुब्ने ठूलो जोखिम कायम छ ।

अन्तर्राष्ट्रिय बजारमा निश्चित रकमसम्मको यस्तो पैसा र पोर्टफोलियोको बिमा गरिएको हुन्छ । उदाहरणका लागि क्यानडामा क्यानेडियन इन्भेस्टर्स प्रोटेक्सन फन्ड (सिआइपिएफ)ले हरेक लगानीकर्ताको १० लाख डलरसम्मको बिमा गर्ने गर्छ । त्यसका लागि लगानीकर्ताले कुनै शुल्क तिर्नु पर्दैन । यी संस्था टाट पल्टिए वा वित्तीय रुपमा समस्यामा परेर लगानीकर्ताको पैसा जोखिममा परे बिमाले १० लाख डलरसम्म रकमको सुरक्षा गर्छ । तर, हामीकहाँ बिमाको व्यवस्था गरिएको छैन । सबै भगवान भरोसामा चलेको छ । सेयर बजारको नियामक धितोपत्र बोर्ड दुर्घटना कुरेर बढ्दो जोखिमको रमिता हेरेर बसेको छ । एक पेजको निर्देशिकाले लाखौँ लगानीकर्ताको अर्बौं अर्ब पैसाको सुरक्षा हुनसक्छ । बजारमा सहभागीहरुको विश्वास बढेर जान्छ । तर, पनि धितोपत्र बोर्डले यो काम गरेको छैन । बजारमा बिमा कम्पनीको बाढी लागेको छ । सरकार अझै बिमा कम्पनी बढाउने दाउमा छ । तर, लगानीकर्ताको पैसा सधैं असुरक्षित छ ।  सुरक्षा गर्नबाट बोर्ड भागिरहेको छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वबिद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर क्यानडाबाट फाइनान्सियल प्लानिमा पोस्ट ग्रयाजुएट सेयरबजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् )

यो पनि पढ्नुहोस्

सेयर लगानीकर्ताका डिम्याट खाता दुरुपयोग

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु