गृहपृष्ठ कारागारका महिलाहरुका लागि जीवन रुपान्तरण तालिम

कारागारका महिलाहरुका लागि जीवन रुपान्तरण तालिम

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सुर्खेत महिला जेसीजले जिल्ला कारागारका महिलाहरुका लागि जीवन रुपान्तरण तालिम दिएको छ । आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक डा. कञ्चन घिमिरेले कारागारमा कैद सजाय भुक्तान गरिरहेका महिलाहरुका लागि ‘प्रिजन स्मार्ट कोर्ष’को पाँच दिने प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले जीवन रुपान्तरण तालिमबाट नयाँ जीवन प्राप्त गरेको अनुभव सुनाए । उनीहरुले आफूमा नयाँ उर्जा र सकारात्कम सोचको विकास भएको भन्दै यसलाई समाजका लागि प्रयोग गर्ने बताएका थिए । वरिष्ठ प्रशिक्षक डा. घिमिरेले थोरै समयमा चार पर्खालभित्र रहेका कैदी–बन्दीहरुमा सकारात्मक सोचको विकास गर्न पाउँदा खुशी लागेको बताए ।

‘मैले सकारात्मक सोच सम्वन्धी धेरै ठाउँहरुमा प्रशिक्षण दिए’ उनले भने, ‘कारागारमा परिबन्दमा परेर जेल जीवन विताइरहेकाहरुलाई प्रशिक्षण दिन पाउँदा धेरै खुशीको अनुभूति भएको छ ।’

कार्यक्रममा सुर्खेत महिला सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले सकारात्कम सोचको विकास हुनु अहिलेको आवश्यकता रहेको बताइन् । उनले समाज परिवर्तनमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै सकारात्मक सोच र उर्जाका साथ जीवन जिउजुपर्ने बताइन् ।

सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी कार्की प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृति शाक्य गुभाजु, संस्थापक महासचिव एवम् पूर्व अध्यक्ष ज्योति कार्की, जेलर जंगबहादुर रानालगायतले बोलेका थिए । कार्यक्रमको समापन मन्तव्य उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लक्ष्मी गुरुङले राखेकी थिइन् भने उद्घोषण महासचिव सुमित्रा गौतमले गरेकी थिइन् ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु