गृहपृष्ठ बुटवल–नारायणगढ सडक सिक्स लेनको बन्ने
बुटवल–नारायणगढ सडक सिक्स लेनको बन्ने
फाइल तस्बिर
महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक १ सय १४ किलोमिटर छ । अहिले यो बाटोमा यात्रा गर्दा पनि ३ घण्टा भन्दा धेरै समय लाग्न गरेको छ । तीन घण्टा भन्दा बढि समयको बाटो एक घण्टामा यात्रा गर्न सकिने भएको छ । सरकारले सिक्स लेन सडक निर्माण गर्ने भएपछि एक घण्टामै यात्रा गर्न सकिने भएको हो । सरकारले अबको तीन वर्षमा सिक्स लेन सडक बनाउने भएको छ ।
जसको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका छन् । बुटवल मण्डप अगाडी प्रधानमन्त्री ओलीले सिक्स लेन सडकको शिलन्यास गरेका हुन् । बुटवल मण्डपमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले देश निर्माणको युग प्रारम्भ भएको बताए ।
उनले अहिलेको सरकारले २०७५ देखि २०८० सालसम्मको समयलाई सडक युग घोषणा गरेको बताए । २०८० पछि सुरुङ युगको सुरु हुने बताए । प्रधानमन्त्री ओलीले बुटवलदेखि नारायणगढ सम्मको सडक अन्तर्राष्ट्रिय मादपण्डको समेत हुने बताए । समयमा नै निर्माण पूरा गर्नको लागि ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।
कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलले समयमै काम सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले निमार्ण कम्पनीलाई तोकिएकै समयमा काम सक्नेगरी काम गर्न आग्रह समेत गरे । राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो ।
सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्य २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए ।
पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने नारायाणगढ बुटवल सडकखण्ड बेलायत सरकारको सहयोगमा निमार्ण भएको हो । २०१८ सालमा राजाले महेन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनाउँदा भारत, रुस र बेलायतको सहयोग लिएका थिए ।
इन्जिनियर जयलाल मरासेनीका अनुसार राजा महेन्द्रका पालामा निर्माण भएको नारायणगढ बुटवल सडक खण्ड बेलायत सरकारले निर्माण गरेको लामो समयसम्म पनि मर्मत उसैले गरेको थियो । त्यसबेला सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । हाल यस सडकलाई जंगल क्षेत्रममा ६ लेन र बस्तीमा ४ लेन बनाउन लागिएको छ ।
दुबै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । पहिलो खण्ड नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो दाउन्ने बुटवल ४९ किलोमिटरमा सडकको स्तरोन्नति गरिने छ । नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाहले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा यो राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामाकारण गरिएको थियो ।
देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेद्र’ नाम हटाएर ‘पूर्व–पश्चिम’ राजमार्ग कायम गरिएको छ । अहिले सडक आयोजनाको कुल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्य एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ ।
सम्झौता अनुसार यो सडकको स्तरोन्नती २०८० साउन २२ गतेसम्म सकिसक्नुपर्ने छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएपनि विस्तारको औपचारिक काम चैत ८ बाट गरिएको छ ।
प्रकाशित समय १२:४६ बजे

















