गृहपृष्ठ दैलेखमा वैशाखदेखि मिथेन ग्यास उत्खनन् गरिने
दैलेखमा वैशाखदेखि मिथेन ग्यास उत्खनन् गरिने
पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । ।
चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खननको घोषणा गरेको थियो ।
त्यसबखत अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन हुने भएको हो । खानी तथा भू–गर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेका अनुसार वैशाख १८ देखि औपचारिकरुपमा उक्त कार्यको थालनी हुने छ । उनले चीनको कम्पनीसँग दुई अर्ब २० करोडको सम्झौता भएको बताए ।
स्थानीयले यसलाई दैवीशक्ति भन्दै नियमित पूजा गर्दै आएका थिए । खानी तथा भू–गर्व विभागले पहिला नै दैलेखको खोलामा बगेको पेट्रोलियम पदार्थको नमूना संकलन गरेको १५ वर्षपछि ग्यास उत्खनन हुने भएपछि दैलेखका उद्योगी व्यापारी खुशी भएका छन् ।
दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा समेत परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उलेख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटक दैलेखको पञ्चकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् ।(रासस)
प्रकाशित समय ०८:२३ बजे

















