गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद बैशाख ५ बाट सुरु हुने
आठौं राष्ट्रिय खेलकुद बैशाख ५ बाट सुरु हुने
आठौं राष्ट्रिय खेलकुल प्रतियोगिता २०७६ बैशाख ५ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरी वृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण २०७६ बैशाख ५ गते देखि सञ्चालन हुने जनाएको हो । तर, खेलकुद प्रतियोगितामा समावेश ३५ खेलमध्ये कतिपय खेल चैत २७ गते देखि नै सुरु हुने परिषद्ले जनाएको छ । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुनेछन् । ३५ खेलका लागि ७ सय ९३ स्वर्ण, ७ सय ९३ रजत र १ हजार १ सय २ कास्य पदकका लागि खेल हुनेछन् ।
प्रदेश ५ मा हुने भनिएको प्रतियोगिताको समय तालिका सार्वजनिक भए पनि पुर्वाधारको काम अझै पनि सम्पन्न हुन सकेको छैन । सदस्यसचिव विष्टले नियमित कामको तालिकालाई बढाएर भए पनि खेल सुरु हुनुपुर्व नै पुर्वाधार निर्माणको काम सम्पन्न गरिने भन्दै पूर्वाधारको अभावमा खेल प्रभावित नहुने दाबी गर्नुभयो ।
४३ करोड बजेटको प्रतियोगिताका लागि ३२ करोड ८४ लाख रुपैयाँ निकासा भइसकेको तथा ११ करोड रुपैयाँ निकासा हुन बाँकी रहेको परिषद्ले जनाएको छ । अपुग रकमका लागि अर्थमन्त्रालयसँग पत्राचार भईसकेको परिषद्ले जनाएको छ ।
प्रतियोगितामा दर्ता भएका ५ हजार २ सय ११ खेलाडीमा २ हजार ७ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला छन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय ९ सय २२ र स्थानीय ४ सय ७१ गरि १ हजार ३ सय ९३ जना निर्णायकको सहभागिता रहने छ ।
प्रतियोगिताको हरेक स्वर्ण विजेता खेलाडीले छुट्टै १० हजार रुपैयाँ पाउने गरेकोमा अब १५ हजार रुपैयाँ पाउँनेछन् । यस्तै सामुहिक स्पर्धातर्फको विजेताले ५ हजार रुपैयाँ पाउँनेछन् । स्वर्णपदक विजेताले पाउने खर्चमा स्वर्णतर्फ ५ करोड २८ लाख रुपैयाँ र सामुहिकतर्फ ७९ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप २५ हजार रुपैयाँ दिईने छ ।
प्रकाशित समय १५:२२ बजे

















