गृहपृष्ठ सादा परिवारलाई लत्ता कपडा र खाद्यान्न सहयोग

सादा परिवारलाई लत्ता कपडा र खाद्यान्न सहयोग

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वाडा नम्बर ३ सिनुरजोडाका अति विपन्न सादा परिवारलाई लत्ता कपडा र खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ । सिनुरजोडाको पश्चिमवारी टोलाका ४४ घरपरिवारमध्ये अति विपन्न परिवार अघनु सादा र सुभदर सादाका परिवारलाई सहयोग गरिएको हो ।
सादा परिवारको आर्थिक अवस्था कमजोर रहेको र सानो झुपडी भित्र ५ जनाको परिवार १० वर्षदेखि जीवनयापन गरि रहेको सामाजिक संजाल र विभिन्न संचार माध्यममा सामाचार प्रकाशित भएपछि उनको घरमा विभिन्न संघ, संस्थाहरुले सहयोग गर्ने क्रममा पाकिस्तानी नागरिक डा.अरिफ मोहम्मदले संचालन गरेको रेस्पोन्स युएसए संस्थाले पठाएको २० हजार नेपाली रुपैयाँ बरावरको लत्ता कपडा र खाद्यान्न सामाग्री प्रदान गरिएको पत्रकार दिपेन्द्र सिंहले जानकारी दिए ।

पत्रकार दिपेन्द्र सिंह र शिक्षा अभियन्ता समाजसेवी राधा कोइरालाको पहलमा पाकिस्तानका नागरिक अरिफ मोहम्मदले सो सहयोग गरेका हुन् । शनिबार सिनुरजोडास्थित सादाको घरमै पुगेर लक्ष्मीनियाँ गाउँपालिकाका वाडा सदस्य लक्ष्मीनियाँ देवी सादाको हातबाट सो सामाग्री प्रदान गरिएको हो ।

सुभदर सादाले ११ दिनकी छोरीले पौष्टिक आहार खान नपाएर शरीरमा कमजोरी भएको खबर सामाजिक संजालमा पोष्ट भएपछि यसअघि पनि केही संघ,संस्थाहरुले सहयोग गरेका थिए । पारिवारिक अवस्था निकै कमजोर भएकाले उनलाई अझै सहयोगको आवश्यकता रहेको सामाजिक अभियन्ता राधा कोइरालाले बताइन् ।

यसअघि सादाको घरमै पुगेर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले साहुले राखेको नागरिकता फिर्ता गराउँदै रेडक्रसको सहयोगमा त्रिपाल, बाल्टिन, खाद्यान्न सामाग्री समेत प्रदान गरेका थिए । त्यस्तै क्लोथ बैंक जनकपुरले समेत सहयोग गरेको थियो । अघनु सादाकी ६७ वर्षीय आमा सिवर्तीदेवी सादा आँखामा मोतियाविन्दु लागेर हृष्टिविहिन अवस्थामा छिन् । उनी आँखाको उपचारको प्रतिक्षामा छिन् ।

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु