गृहपृष्ठ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुरु गर्यो दमकल सेवा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुरु गर्यो दमकल सेवा
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ । सेवाको शुक्रबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले संयुक्तरुपमा शुभारम्भ गरे । ३५ सय लिटर क्षमताको दमकलले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्याक्न सक्ने बताइएको छ ।
प्रारम्भिक चरणमा नगरपालिकामा कायम जनशक्तिबाट दमकल सेवा सुरु गरिने र आगामी दिनमा थप जनशक्तिको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । दमकल सञ्चालनका लागि स्थानीय प्रहरी प्रशासनसँग पनि सहकार्य गरिने नगरपालिकाको भनाइ छ ।
तिलोत्तमा नगरपालिका स्थापना भएसँगै दमकल खरिद गर्न खोजिए पनि विभिन्न कारणले सफल हुन सकेको थिएन । तर, बढी आगलागीका घटना हुन सक्ने समयमा दमकल ल्याइएको हो ।
दमकल सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख घिमिरेले नगरपालिकाले दिनुपर्ने एउटा अत्यावश्यक सेवा सुरु भएको बताए । उनले सरोकारवाला सबैको सहकार्यमा दमकल सेवालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दमकल सेवाका लागि आवश्यक थप जनशक्तिको चाँडै नै व्यवस्थापन गरिने बताए ।
नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेयले दमकल सेवाले नगरबासीलाई खुसी बनाएको बताउँदै यसको जानकारी गाउँ–गाउँसम्म पुर्याइनुपर्नेमा जोड दिए ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले नगरपालिकामा दमकल सेवा सुरुसँगै आफूहरु उत्साहित भएको बताए ।

प्रकाशित समय १६:१६ बजे

















