गृहपृष्ठ असुरक्षित सडक !

असुरक्षित सडक !

वीरेन्द्रनगरका पैदल यात्रीलाई सडक कसरी पार गर्ने भन्ने जानकारी छैन । उनीहरुले भेंडाबाख्राले जस्तै जहाँ पायो त्यहीबाट बाटो काटेको दृश्य बजार क्षेत्रमा देख्न सकिन्छ । सवारी चालक पनि सवारी हुइँक्याउने गतिकबारे जानकार नभएजस्तो लाग्छ । बिच बजारमा ओभर स्पिड र हर्नको आवाजले कानको जाली नै जाने अवस्था वीरेन्द्रनगरमा छ । यहाँ बजारमै पनि ट्राफिक लाइट, होर्डिङ बोर्ड, जेब्रा क्रसजस्ता चिह्नहरु छैनन् ।

न त त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ । नो पार्किङ लेखिएका ठाउँमा सवारी साधन राखेको धेरै ठाउँमा देख्न सकिन्छ । साँघुरो सडकका कारण ठूला सवारी साधन छिरेपछि यहाँ घण्टौं जाम हुन्छ । पैदल यात्रीलाई हिँड्नै सकस छ । बाटोका छेउछाउमा राखिएका पसल र ग्यारेजका कारण वीरेन्द्रनगर झनै कुरुप र असुरक्षित बनेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्या र सवारी साधनको चापलाई कुनैसरोकारवाला निकायले ध्यान दिएका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चार वर्षको अवधिमा सुर्खेतमा १ सय ८ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ । हरेक वर्ष यसको दर बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७२/०७३ मा १६ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ । त्यस्तै आव ०७३/०७४ मा ३३ जना, ०७४/०७५ मा ३५ जना र ०७५/०७६ को वैशाख ३१ सम्ममा २४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यसरी ज्यान गुमाउनेमा ३० जना महिला र ७८ जना पुरुष छन् । चार वर्षको अवधिमा २ सय २ सवारी दुर्घटना हुँदा ७ सय ४९ जना घाइते भएको प्रहरीको तथ्यांकमा छ ।

‘सुरक्षित सडक हुनका लागि सडकमा आधारभुत पूर्वाधार हुनुपर्नेमा वीरेन्द्रनगरमा त्यो अवस्था छैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरि बिसीले बताए, ‘निर्माणाधीन रत्न राजमार्गको निर्माण कार्य सम्पन्न भएपछि ट्राफिक व्यवस्थापन गर्न सहज होला ।’ वीरेन्द्रनगरको साँघुरो सडकमा संकेत चिह्न नहुँदा सडक व्यवस्थापनामा समस्या छ ।’ आवश्यकता अनुसार फराकिलो सडक र पार्किङको व्यवस्थापन पहिलो आवश्यकता भएको उनले बताए ।

‘मानवीय कारणले दुर्घटना हुने भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,’ बिसीले भने । ‘यहाँको ट्राफिक व्यवस्थापनका कारण यातायात व्यवासायीहरुलाई समेत समस्या भएको छ,’ काँक्रेबिहार बस व्यवसायी समितिका इन्चार्ज धर्मराज गिरीले भने, ‘साँघुरो बसपार्कमा सवारी साधनको व्यवस्थापन सुधार्न प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनुप¥यो ।’

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु