गृहपृष्ठ आरन चले पनि जीवन चल्न मुस्किल
आरन चले पनि जीवन चल्न मुस्किल
तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेसा संकटमा परेपछि चिन्तित भएका छन् । पुर्ख्यौली पेसा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भएका हुन् ।
पुर्खादेखि गर्दै आएको आरनले परिवार पाल्न गाह्रो भएपछि पेसाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । लामो समयदेखि हँसिया, खुर्पा, बन्चरो बनाएर परिवार पाल्दै आएका विकले बजारमा आएको आधुनिक सामग्रीका कारण आफ्नो पेसा संकटमा परेको जानकारी दिए ।
दलसिंले भने, ‘बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेसा नै संकटमा पर्न थालेको छ । हिजोआज काम पनि पाउन छाडियो ।’ बजारमा भित्रिएका आधुनिक सामानका कारण आफूले बनाउँदै आएको हँसिया, खुर्पालगायत बिक्री हुन छाडेको उनको गुनासो छ । उनले भने, ‘विगतमा यही पेसाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । अहिले सामग्री नै बिक्री हुन छाडेपछि दोधारमा परेको छु ।’
‘बजारमा आएका सस्ता सामग्री र आफूले बनाएको सामग्रीको गुणस्तर धेरै फरक पर्छ,’ उनले भने ‘मानिसले त्यसको महत्व नबुझेर सस्ता सामग्री किन्न थाले ।’
‘विगतमा यही पेसाले परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेसाबाट बाँच्न सक्दैन,’ विकले भने, ‘फलामलाई कोइलाको ताप दिई आकार प्रकार मिलाएर बनाइने खुर्पालगायतका औजार मजबुत भए पनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा छन् ।’ यो पेसाबाट मासिक दुई हजार पनि कमाउन नसकिने भएपछि अब के गर्ने भन्ने चिन्ता थपिएको विकले बताए ।
पेसा जोगाउन सहयोग
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ पाल्पाली छापका नेत्रमाया सुनारको बिहान–बेलुकाको समय आरनमा बित्छ । काँचो फलामलाई कोइलाको रापमा पगालेर कृषि औजार, हातहतियार र भाँडावर्तन बनाउनु उनको दैनिकी हो । पुराना सामानलाई आगोमा रातो तताउँदै घनले पिटेर नयाँ स्वरुपमा ढाल्न उनले कडा मिहिनेत गर्नुपर्छ ।
आर्थिक अभावका कारण खुला आकाशमुनि आरन चलाउनुपर्ने उनको बाध्यता थियो । वैशाख–जेठको टन्टलापुर घामको प्रवाह नगरी खुला आकाशमुुनि खलाती र भाटीसँग पौठेजोरी खेल्ने नेत्रमायालाई उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति शुक्लागण्डकीले आरन चलाउन टहरा निर्माण गरिदिएको छ । जस्ताले छाएको टहरासँगै आरनमा आवश्यक सामग्री उनलाई सहयोग गरिएको समितिका अध्यक्ष भरत लामगादेले बताए ।
उनले भने, ‘संकटमा परेको पेसा संरक्षण गर्ने अभियानमा हामी छौं । पछिल्लो समय आरन चलाउनेहरु घटेका छन् ।’ दशकौँदेखि आरन चलाएकी नेत्रमायाले आफैं टहरा बनाउन नसक्ने भएपछि पेसा जोगाइदिन टहरा निर्माणमा सघाएको उनको भनाइ छ ।
उनका अनुसार नेत्रमायालाई आरनमा आवश्यक सनासो, घन, भाडी, हावा निकाल्ने मेसिन सहयोग गरिएको छ । लामगादेले भने, ‘विदेश जानुभन्दा पुर्ख्यौली पेसालाई आधुनिक र व्यवस्थित तरिकाले अपनाए राम्रो आम्दानी लिन सकिन्छ ।’
वर्षायाममा आरन कसरी चलाउने भनेर चिन्तित नेत्रमाया नयाँ टहरा पाएपाछि खुसी भएकी छन् । उनले भनिन्, ‘चर्को घाममा काम गर्न नपर्ने भयो । अब टहरामा आरन भएपछि फुर्सद हुँदा काम गर्न सक्छु ।’ (रासस)
प्रकाशित समय १४:४२ बजे

















