गृहपृष्ठ एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प
एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प
मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायत माग राखेर कुस्मा नगरपालिका–८ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युतगृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत दस दिनदेखि बन्द छ । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।
निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युतगृहलगायत संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग आयोजनासँंग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ । ‘हामी सुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिई बाहिरबाट कर्मचारी राख्ने काम भएको छ,’ आयोजनामा कार्यरत कर्मचारी एकनारायण गिरीले भने, ‘हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ कर्मचारीले यसअघि जेठ ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए तर २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको भए पनि आजसम्म पहल नभएको उनीहरूको गुनासो छ ।
लामो समयसम्म पनि आयोजनाले आफ्ना माग सुनुवाइ नगरेपछि कार्यरत कर्मचारीले मंगलबार र बुधबार दिनभर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । आफ्ना माग पूरा गराउनका लागि पहल गरिदिन माग गर्दै प्रशासनमा आएको उनीहरूले बताएका छन् । यता आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीको रूपमा राखेर काम गराइएको तर स्थायी नभएको बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले आयोजना पक्ष र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । मंगलबार र बुधबार दुवै पक्षसँग छलफल गरिएको र एक–दुई दिनमा संयुक्त छलफल गराएर आयोजनाको काम सञ्चालन गराउने पहल गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिए । कुस्मा नगरपालिका–८ चुवाको परादीस्थित विद्युतगृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो सुरुङको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायत सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ हुने भएको आयोजना प्रमुख यादवले बताए ।
विसं २०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । (रासस)
प्रकाशित समय ११:३० बजे

















