गृहपृष्ठ फाराम भर्ने समय सकिन लाग्दा मिनेटमै सयको आवेदन
फाराम भर्ने समय सकिन लाग्दा मिनेटमै सयको आवेदन
लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको संख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको संख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने संख्यामा वृद्धि भएको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार अहिले प्रतिमिनेट सयजनाले फाराम भरिरहेका छन् । एकैपटक धेरै संख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।
‘पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्,’ उनले भने, ‘अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।’ एकैपटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम सुरु गरेको हो ।
मंगबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।
उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम भरेका छैनन् । ‘आयोगले यतिधेरै संख्यामा आवेदन माग गर्दा करिब तीन लाखले भर्ने अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘अहिलेको संख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकाले संख्यामा वृद्धि भने हुन्छ ।’ उनका अनुसार अहिलेसम्म १ लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेसी १० हजार १४, दलित १ हजार २३०, अपांग ७३ र पिछडिएका ५० जना रहेका छन् । (रासस)
प्रकाशित समय १५:३० बजे

















