गृहपृष्ठ पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा. विष्णुराज आत्रेय (लाटोसाथी) ले ‘पतञ्जलि’ पुस्तकमार्फत पतञ्जलिको जन्म अर्घाखाँचीको सितगंगा पलाँटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने उक्त ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य फेला पार्न डा आत्रेय सफल भएका हुन् ।

राजधानीको वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले महर्षि पतञ्जलिबारे प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका करिब दुई सय उदाहरण पेस गरेर पुस्तक तयार पारेको बताए । ‘झट्ट सुन्दा सुरुमा अपत्यारिलो पनि लाग्न सक्छ,’ उनले भने, ‘पुस्तक पढिसकेपछि पत्याउन केही गाह्रो पर्दैन ।’ उनले पुराण, महाभारतको अध्ययन र विभिन्न खोज–अनुसन्धानबाट पतञ्जलि अर्घाखाँचीमा जन्मिएको तथ्य फेला पार्न सकिएको बताए । १२५ पृष्ठको पुस्तकमा पतञ्जलिको जन्म र उनका क्रियाकलापबारे करिब दुई सय उदाहरण दिएको लेखक आत्रेयले बताए । पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको गोपर्वतमा आई पाणिनिले संस्कृत व्याकरणको आविष्कार गरेका थिए । पाणिनिबाटै प्रभावित भएर पतञ्जलिले पनि संस्कृतमा खोज–अनुसन्धान र कृति तयार पारेको उनले बताए ।

‘पाणिनिसँग पतञ्जलिको भेट नभए पनि पतञ्जलिले पलटेबाट पाणिनि तपोभूमि पुगेर पाणिनिबारे अध्ययन गर्नुभएको थियो,’ आत्रेयले भने, ‘पतञ्जलिको जन्म र पाणिनिको कर्मथलो अर्घाखाँची हुनु सबै नेपालीले गर्व गर्ने विषय हो ।’ उनले पतञ्जलिको जन्म भएको क्षेत्रमा विभिन्न संरचना निर्माण गरी सो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए । ‘मठमन्दिर, कुटी, पतञ्जलिको मूर्तिलगायतका विभिन्न संरचना निर्माण गर्न सके देशी–विदेशी भक्तजनको घुइँचो लाग्नेमा दुई मत छैन,’ उनले भने, ‘बस्नका लागि सुविधा सम्पन्न होटल र आवश्यक अन्य पूर्वाधार निर्माणमा लाग्नुपर्छ ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसालले मन्तव्य राख्दै पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा भएको विषयलाई प्रचारप्रसार गरी विश्वसामु पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरुले पतञ्जलि जन्मस्थल र पाणिनिको तपस्यास्थलको विकास गरी प्रचारप्रसार गर्नसके अर्घाखाँचीको मात्र नभई सिंगो मुलुकको नै पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने बताए । सितगंगा नगरपालिकाले ठाडादेखि ऐरावतीसम्मको सडकलाई पतञ्जलिमार्ग नामकरण गरिसकेको छ । (रासस)

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु