गृहपृष्ठ कुन्ताबेंसीमा घर भत्किँदा एक महिला घाइते
कुन्ताबेंसीमा घर भत्किँदा एक महिला घाइते
मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुईजनाको उद्धार गरिएको छ । शनिबार बिहान ३ बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् ।
उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवैजनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए । स्थानीयवासीको सहयोगमा पुरिएका तीनैजनाको तत्कालै उद्धार गरिएको हो । तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नगरकोट घर भएका तामाङ दम्पती सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो । (रासस)
प्रकाशित समय १०:२३ बजे

















