गृहपृष्ठ प्रथम पाक-कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता, सुनसरी नेपाली प्रथम

प्रथम पाक-कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता, सुनसरी नेपाली प्रथम

Winners of TEVT newskarobar

नेपालमै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्विस कन्ट्याक्टले नेपाल सरकार र स्विस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा आयोजित प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ । पोखरामा शुक्रबार सम्पन्न भएको पाककलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भइन् । प्रथम पुरस्कार विजेता नेपालीले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् ।

औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रस्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन गरिएको हो, जसमा देशका सातवटै प्रदेशबाट पहिलो चरणको प्रतियोगिताबाट छानिएका १४ जना प्रतिस्पर्धीबीच शुक्रबार साँझ पोखरा ग्रान्डमा १४ जना फाइनल चरणमा प्रतियोगिता भएको थियो ।

सातै प्रदेशका १६३ जना प्रतियोगीबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका थिए । प्रतियोगितामा प्रदेश ३ की नेपाली प्रथम भइन् भने प्रदेश ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरे । थापाले नगद ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, प्रदेश ५ का ओमप्रसाद ढकालले तेस्रोे हुँदै ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्र्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

पर्यटन गण्डकी प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पाककलाजस्तो पर्यटन क्षेत्रको महत्वपूर्ण प्रतिस्पर्धाको थालनी पोखराबाटै आरम्भ भएकोमा सह्राहना व्यक्त गरे । गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्राविधिक तथा सीपमूलक शिक्षाले देशमा रहेको बेरोजगारीको समस्या हल गर्न सकिने विश्वास व्यक्त गरिन् भने पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसीले पोखरा उपमहानरपालिकाले प्राविधिक शिक्षालाई समृद्धिको पूर्वसर्तको रुपमा अंगिकार गरेको भन्दै यो प्रतियोगिताले आम बेरोजगार युवामा श्रमप्रतिको सम्मानलाई अझै उजागर गर्ने विचार व्यक्त गरे ।

नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहाल नेपालमा पनि अन्तराष्ट्रिय स्तरको दक्षता मापन प्रणाली स्विस सरकारको सहयोगमा तयारी भइरहेको जानकारी दिँदै यस्ता प्रतियोगिताबाट देशमा लुकेर रहेका सीपयुक्त जनशक्तिको दक्षता बाहिर ल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) सदस्य सचिव रमेश बखतीले नेपालमा प्राविधिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा परिषद्ले हालसम्म सञ्चालित कार्यक्रमबाट हजारौं नेपाली युवा दक्ष भइसकेको बताए । नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएको सन्दर्भमा यस्ता प्रतियोगिताले प्राविधिक जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बखतीले जनाए ।

शिक्षविद् डा. कुलबहादुर बस्नेतले अब गरिखाने सीप नै राष्ट्रिय समृद्धिको आधार भएको धारणा व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी, एलबी कौशल, राजकुमार लामा थिए भने सेफ एसोसिएसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु