गृहपृष्ठ सरकारले खोज्यो चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष

सरकारले खोज्यो चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष

Medical Education Board_NewsKarobar

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि वरिष्ठ चिकित्सकहरूबाट दरखास्त माग गरेको छ । हालै पारित भएको चिकित्स शिक्षा ऐन २०७५ मा उक्त आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारीका रूपमा उपाध्यक्ष रहने व्यवस्थाअनुसार त्यसका नियुक्तिका लागि सरकारले दरखास्त मागेको हो ।

आयोगको उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा बीस वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव सहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा बीस वर्षको अनुभव भएको तथा शिक्षण संस्थाका बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रूपमा ख्याति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र कौशल प्रदर्शन गरेको,कुनै राजनीतिक दलको सदस्य नरहेको र चिकित्सा शिक्षाको क्षेत्रमा निजी स्वार्थ नभएको हुनुपर्ने जनाइएको छ ।

यस्तै, ६१ वर्ष उमेर पूरा भएको र चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थको टकराव नभएको हुनुपर्ने थप सर्त राखिएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस गर्न गठित समितिले छनोटभएका योग्यमध्ये तीन जनाको नाम सरकारसमक्ष पेश गर्ने र सरकारले तीमध्येबाट एक जनालाई उपाध्यक्षमा नियुक्त गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उल्लेख गरेको छ ।

आयोगका उपाध्यक्ष हुन इच्छुक हुने तोकिएको योग्यता पुगेकाले सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु