गृहपृष्ठ शिशु प्रसिद्धी दर्जीको पालनपोषणका लागि सात लाख सहयोग
शिशु प्रसिद्धी दर्जीको पालनपोषणका लागि सात लाख सहयोग
जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करिब सात लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६ लाख ७७ हजार ७८८ रूपैयाँ शिशु प्रसिद्धी दर्जीको नाममा गरिमा विकास बैंकको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिए । ‘पालनपोषणदेखि शिक्षादीक्षामा खर्च गर्ने गरी मुद्दती खातामा राखिएको छ, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौँ,’ श्रेष्ठले भने । रोजगारीको सिलसिलामा जापान पुगेकी दर्जी ब्रेनट्युमर रोगबाट ग्रसित थिइन् । दर्जीको मृत्युपछि एक महिनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।
उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानुनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दीपक केसीले अस्पतालको श्यय्यामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादीक्षा र पालानपोषणमै खर्च गरिने बताए । ‘जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौँ,’ केसीले भने ।
केसीले संकलन गरिएको आर्थिक सहयोगलाई मोना जापानको प्रतिनिधिसहित आफन्तको नाममा बैंकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिए । बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीनजनाको नाममा खाता सञ्चालन गरिएको छ । यस अगाडि मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले ८९ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ । (रासस)
प्रकाशित समय १०:५९ बजे

















