गृहपृष्ठ घर सम्पन्न प्रमाणपत्र लिन दुईवटा बिरुवा अनिवार्य

घर सम्पन्न प्रमाणपत्र लिन दुईवटा बिरुवा अनिवार्य

तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुईवटा बोटबिरुवा रोप्नुपर्ने नीति ल्याएको हो ।

नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । ‘नगरभित्र निर्माण हुने घरधनीहरुले अनिवार्य रुपमा बिरुवा रोप्नुपर्नेछ,’ उनले भनिन्, ‘अन्यथा घर निर्माण सम्पन्नको प्रमाणपत्र जारी हुँदैन ।’

नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवर्धनका लागि वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने जोशीले बताइन् । ‘यस कार्यमा नगरको सुन्दरताका लागि एकरुपता कायम गर्ने गरी नगरपालिकाबाट बोटबिरुवाहरु उपलब्ध गराइनेछ,’ जोशीले भनिन्, ‘त्यस्ता बोटबिरुवाहरुको उत्पादन जग्गाधनीहरुले नै उपयोग गर्ने गरी संरक्षण गर्नुपर्नेछ ।’

नगरपालिकाले फूलैफूलको नगर बनाउने नीति लिएको छ । नगरको सुन्दरताका लागि सडक किनारा र पार्क तथा खुल्ला स्थानको प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति नगरपालिकाले पारित गरेको छ ।

नगरपालिकाभित्र परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताइन्  । जोशीका अनुसार व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गरिनेछ । फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याई प्रांगारिक खेती प्रणालीसँग आबद्ध गरी अभियानका रुपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

खरको छानोमुक्त नगर

नगरपालिकाले खरको छानोमुक्त नगर अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७६/७७ मा खरको छानो भएका घरहरु जस्ताले छाउन नगरवासीलाई अनुदान दिइनेछ । नगरभित्र रहेका खरको छानो भएका घरहरुको अध्ययन गरी खरस्याउलाको छानामुक्त नगरपालिका निर्माण गर्ने कार्यलाई तीव्रता दिइनेछ । (रासस)

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु