गृहपृष्ठ बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल बनाउने

बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल बनाउने

झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन ५० लाख रूपैयाँ विनियोजन गरेको जानकारी दिए । चालु आवमा आवमा यही शीर्षकमा ३० लाख बजेट छुट्याइएको थियो ।

इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल ठूला अस्पताल बनेका छैनन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक मात्र सञ्चालनमा छन् । गाउँपालिकाले वडा नं. १ मा २५ शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन दातासँग मिलेर एक बिघा जग्गाको व्यवस्था मिलाइसकेको र आगामी वर्षमै निर्माण कार्य सुरु गरिने अध्यक्ष भुजेलले बताए ।

छिमेकी मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आउने भएकाले बुद्धशान्तिमा कम्तीमा एउटा सुविधा सम्पन्न अस्पताल अति आवश्यक रहेको बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाई बताउँछन् । उनले ५० शय्याको अस्पताल बनाउन सके बिरामीको चाप धान्ने सुझाव दिएका छन् ।

हाल बुद्धशान्तिको वडा नं. ३ र ५ मा स्वास्थ्य चौकी र अन्य वडाहरुमा स्वास्थ्य एकाइ छन् । गाउँपालिकाले बजेटबाटै मधुमेह र रक्तचापका बिरामीका लागि औषधि र गर्भवतीका लागि क्याल्सियम चक्की निःशुल्क वितरण गर्दै आएको जनाएको छ । (रासस)

प्रकाशित समय ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु