गृहपृष्ठ खोटाङमा ६ महिनामा १४ वटा बलात्कारका घटना

खोटाङमा ६ महिनामा १४ वटा बलात्कारका घटना

गएको ६ महिनामा खोटाङमा भएको मानव अधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लंघनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्बन्धी घटना भएका थिए ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० को पूर्व अर्धवार्षिक समीक्षा’ मा गत पुस १५ देखि हालसम्मका प्रतिनिधिमूलक घटना प्रस्तुत गरिएको थियो । यस अवधिमा ६ बलात्कार तथा आठ बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले जानकारी दिए ।

इन्सेकको अभिलेखअनुसार बलात्कारका घटनामा बालिका बढी पीडित भएका थिए । जिल्लामा चार बालिका तथा दुई महिलामाथि बलात्कारको घटनासम्बन्धी तथा पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका थिए ।

बलात्कार प्रयाससम्बन्धी मुद्दाका चार आरोपीले भने सफाइ पाइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । ‘पीडित भनिएकाले रिसिइबीका कारण मुद्दा दर्ता गराएका रहेछन्,’ उनले भने, ‘प्रहरीमा उजुरी आएपछि घटनाबारे अनुसन्धान गर्दा उनीहरु निर्दोष रहेको पाएपछि पीडक भनिएकालाई अदालतले सफाइ दिएको थियो ।’

यस्तै हाडनातामा पर्ने एक बालिकालाई जबर्जस्ती करणी गर्ने एकजनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छ । इन्सेकको प्रतिवेदनअनुसार दुई महिलाको हत्या, दुई महिलालाई कुटपिट गरी घाइते बनाइएको र एकजनालाई हत्याको प्रयास गरिएको घटना दर्ता भएका थिए । छ महिनाको अवधिमा जिल्लामा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको थियो । (रासस)

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु