गृहपृष्ठ म्याग्देका विपन्न महिलालाई बाख्रा वितरण
म्याग्देका विपन्न महिलालाई बाख्रा वितरण
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो ।
मन्त्रालयको विपन्न महिला लक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले जानकारी दिए । महिलालाई बाख्रा वितरण गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक गरिब विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनु सरकारको दायित्व रहेकाले कोही पनि गरिब हुनुनपर्ने गरी सरकारले योजना र कार्यक्रम ल्याउने बताए ।
खानेपानी आयोजना सुरु
तनहुँको भानु नगरपालिका–३ दोरदोरस्थित दोरदोर धारापानी खानेपानी योजना सुरु भएको छ । १ करोड ५८ लाख ६५ हजार रूपैयाँको लागतमा खानेपानी आयोजना सुरु भएको हो । खानेपानी योजनाको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १ करोड ३२ लाख ७१ हजार रूपैयाँ उपलब्ध गराएको छ भने बाँकी स्थानीयवासीको श्रमदान र लागत सहभागिता हुने उपभोक्ता समितिका अध्यक्ष नीता रानाभाटले जानकारी दिइन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सेनाले खानेपानी योजनालाई प्रभावकारी बनाउँदै निर्धारित समयमै पूरा गर्नुपर्ने बताए । उक्त योजना एक वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । (रासस)
प्रकाशित समय १०:४९ बजे

















