गृहपृष्ठ चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान-प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताइन् । उनले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरिन् ।

पराजुलीले चीनका प्रमुख सहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन्  । ‘हामी मुख्य तीन सहर बेइजिङ, गोन्जाओ र सांघाई सहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकांश पसलमा हामीलाई भारतीय नागरिक बनाइयो,’ पराजुलीले भनिन्, ‘नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाँड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिँड्यौँ ।’

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् । हरेक क्षेत्रमा सक्रिय रूपमा तल्लीन त्यहाँका नागरिकको मिहिनेतले पनि चीनलाई आर्थिक रूपमा सबल बनाउन सकेको उनको धारणा थियो ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागी उमा काफ्लेले बताइन् । प्राकृतिकभन्दा पनि मानवनिर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीका लागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तव्य रहेको भ्रमणमा सहभागी माया सुवेदीको अनुभव थियो ।

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् । ‘हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो ।’

‘श्रीमानलाई सोधेर आएको हो ?’ ‘महिला महिला मात्रै कसरी जानुहुन्छ ?’ जस्ता कुराले नमज्जा लागेको उनको भनाइ थियो । भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनि त्यहाँको इतिहासबारे जान्दा विकासका लागि शताब्दी कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको बताइन् । देशलाई माया गर्ने राजनेता भए चार दशकमै मुलुकले आर्थिक छलाङ मार्न सक्ने उदाहरण चीनबाट सिकिने उनको भनाइ थियो ।

बेइजिङको टप भ्युज होलिडेज प्रालिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, सांघाई, गोन्जाओ सहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन् । टोली असार ३ गते गएर १४ गते फर्किएको हो । (रासस)

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु