गृहपृष्ठ पूर्वपश्चिम राजमार्गको भब्सीमा डाइभर्सन, एक सातामा बेलिब्रिज बन्ने
पूर्वपश्चिम राजमार्गको भब्सीमा डाइभर्सन, एक सातामा बेलिब्रिज बन्ने
पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आइतबारबाट साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ ।
शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन) खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् । पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दिवास जलेश्वर सडकको औरही हुँदै गौशालाबाट फेरि पूर्वपश्चिम राजमार्ग समातेर चलेका थिए ।
बाढीले बर्दिवास जलेश्वर सडक कैयौँ ठाउँमा खाल्डो बनेकाले ठूला सवारी साधन चलाउन अप्ठ्यारो हुँदै आएको थियो । बगेको पुलकै छेउबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जनकपुर र स्थानीय स्वयंसेवी युवाको लगातार दुई दिनको प्रयत्नले आइतबार साँझ वैकल्पिक मार्ग बनेपछि सवारी साधनको सहज आवागमन खुलेको हो ।
वर्षा र बाढीको सम्भावना अझै रहेकाले बगेको पुलकै ठाउँमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ । बेलिब्रिज जडान कार्यमा एक सातासम्म लाग्नसक्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको हो ।
बर्दिवासमा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय लहानबाट ल्याइँदै गरिएको र जडानका लागि दक्ष कामदार काठमाडौंबाट झिकाइएका छन् । २०२६ सालमा तत्कालिक शोभियत संघको सहयोगमा निर्मित ५० मिटर लम्बाइको सो पुल बीचको अवधिमा एक पटक मर्मतसम्भार गरिएको थियो । (रासस)
प्रकाशित समय ०९:०५ बजे

















