गृहपृष्ठ सुर्खेतमा सवारी कारबाहीबाट १ करोड ६४ लाख रूपैयाँ राजस्व
सुर्खेतमा सवारी कारबाहीबाट १ करोड ६४ लाख रूपैयाँ राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५/७६ मा १ करोड ६४ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारबाहीबाट आव २०७५/७६ को असार ३० गतेसम्म १ करोड ६४ लाख ५८ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको हो ।
यो आव २०७४/७५ को राजस्वभन्दा ४७ प्रतिशत बढी राजस्व हो । गत आव २०७४/७५ मा जिल्ला ट्राफिक प्रहरी सुर्खेतले ८७ लाख ८९ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो ।
विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिनालाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारबाहीबाट ठूलो परिमाणमा राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।
पुस महिनामा सबैभन्दा बढी २ हजार ८ सय ७३ सवारी साधन कारबाहीमा पर्दा प्रहरीले १९ लाख ४७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । सबैभन्दा कम साउन महिनामा १ हजार १ सय ४१ सवारी कारबाही हुँदा ८ लाख ५२ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
ट्राफिक नियमसम्बन्धी आव २०७५/७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएको उनको दाबी छ । उनका अनुसार आव २०७४/७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५/७६ मा त्यो संख्या २९ मा झरेको छ । (रासस)
प्रकाशित समय ११:४२ बजे

















