गृहपृष्ठ तेस्रो तलाबाट व्यक्ति फाल्ने कार्यमा संलग्न तिनजना पक्राउ

तेस्रो तलाबाट व्यक्ति फाल्ने कार्यमा संलग्न तिनजना पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित नारायणी गेस्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गस्ट हाउसको तेस्रो तलाबाट फाली घाइते बनाएको अभियोगमा तिनजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका-४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोभर्‍याङ बस्ने गुल्मी मालिका गाउँपालिका-८ घर भएका १७ वर्षीय सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निसान धमला रहेका छन् ।

उक्त गेस्ट हाउसमा उनीहरुसमेत पाँचजना बसिरहेको अवस्थामा सोमबार राति खाना पुर्‍याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए । घाइते विवेकलाई तत्काल उपचारका लागि सहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्रान्डी अस्पताल लगिएको छ ।

घटनापश्चात् फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेला पारी फरारमध्ये तिनजनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य दुईजनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु