गृहपृष्ठ लागूऔषधसहित पाँच पक्राउ
लागूऔषधसहित पाँच पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं– प्रहरीले अवैध लागूऔषध ओसारपसार गर्ने पाँच जनालार्इ पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्नहरूलार्इ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
चन्द्रगिरी नगरपालिका-२, नागढुंगामा खटिएको प्रहरी टोलीले बुधबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ५ ख २३९९ नम्बरको बसमा आइरहेका बेला जनकपुरका २५ वर्षीय सन्तोष झालाई पक्राउ गरेको छ । प्रहरीले झाको साथबाट ९ सय ट्याव्लेट नाइट्रोजेपाम पनि बरामद गरेको छ । त्यस्तै, प्रहरीले चितवन टाँडीका २१ वर्षीय प्रजेश अधिकारीलाई १ सय ५० ट्याव्लेट नाइट्रोजेपामसहित पक्राउ गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका-७ बस्ने ५५ वर्षीया रीता लामालाई हेटौंडा उपमहानगरपालिका-१९, गुम्बाचोकस्थित राजमार्गबाट चार किलो २ सय ५० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-१२ बस्ने १४ वर्षीय पुष्पपारस राईलाई लागूऔषध फेनारगन ५ एम्पुल, लुप्रिजेसिक ५ एम्पुल, डाइजोल्याप ५ एम्पुल र सिरिन्ज एक थानसहित सोही नगरपालिका-६ स्थित चुरिया जंगलबाट प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीले राईका साथी निर्जल खड्का र मिलन राईले फालेको झोलाबाट लागूऔषध डाईजोल्याप १ सय ९६ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल, लुप्रिजेसिक १ सय ९६ एम्पुल र सिरिन्ज २३ थानसमेत बरामद गरेको छ । फरार निर्जल र मिलनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका-७, भद्रकाली बस्ने २६ वर्षीय बिक्की सुनुवारलाई प्रहरीले मंगलबार लागूऔषध चरेश ८ ग्रामसहित पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:०४ बजे

















