गृहपृष्ठ कुपोषण न्युुनीकरण अभियानमा आमा समूह
कुपोषण न्युुनीकरण अभियानमा आमा समूह
User comments
वीरेन्द्रनगर नगरपालिका– ८ की लालमती पन्त रिङरोड आमा समूहकी अध्यक्ष हुन् । राजनीतिमा समेत सक्रिय उनी यतिबेला भने सर्वोत्तम पिठो बनाउन व्यस्त छिन् । पन्तलगायत समूहका सबै महिलाहरु सर्वोत्तम पिठो उत्पादनमा सक्रिय हुन थालेको करिब एक वर्ष भयो ।
समूहमा नियमित रकम बचत गर्दै आएका उनीहरु एक वर्षयता भने सर्वोत्तम पिठो बनाइरहेका छन् । उनीहरुले मकै, भटमास र गहुँ खरिद गरेर सर्वोत्तम पिठो बनाउँछन् ।
वीरेन्द्रनगर नगरपालिकाको ८ नम्बर वडाबाट प्राप्त महिलालक्षित बजेट एक लाख र बाँकी रकम समूहकै आन्तरिक कोषबाट लगानी गरेर सर्वोत्तम पिठो उत्पादन गर्न सुरु गरेको अध्यक्ष पन्तले बताइन् । ‘घरमा दिनभर खाली बस्नुभन्दा सर्वोत्तम पिठो उत्पादन गरी आर्थिक रुपमा समेत सक्षम हुनका लागि यो कामको थालनी गरेका हौँ,’ उनले भनिन् । उनका अनुसार हरेक शुक्रबार समूहका सदस्यहरु भेला भई पिठो बनाउने गरेका छन् । समूहमा १८ जना सदस्य रहेका छन् । आम्दानीसँगै बालबालिकामा हुने कुपोषण न्युुनीकरणमा सहयोग पु¥याउने लक्ष्यले सर्वोत्त म पिठो उत्पादन थालेको उनले बताइन् ।
समूहकी सदस्य डम्बरकुमारी आचार्यले सर्वोत्तम पिठो विक्रीबाट आएको आम्दानीको छुट्टै कोष बनाएको बताइन् । उनका अनुसार पिठो बनाउन ६।६ जनाको तीन समूह बनाएर काम बाँडफाट गरिएको छ ।
एकपटक सर्वोत्तम पिठो खरिद गरेको व्यक्ति अर्कोपटक समूहमै आउने. गरेको उनले बताइन् । ‘आधा केजी पिठो एकसय रुपैयाँमा विक्री गर्दै आएका छौं,’ आचार्यले भनिन्, ‘हामी समूह बनाई कहिले खोप लगाउने स्थानमा त कहिले आफ्नो पायक पर्ने स्थानमा गएर पनि पिठो बेच्छौँ ।’ उनका अनुसार समूहले उत्पादन गरेको पिठो सुत्केरी, बालबालिका र वृद्धवद्धाले पनि खान मिल्ने किसिमको छ । माग बढेकाले उत्पादन पनि बढाउने तयारी भइरहेको उनले बताइन् ।
प्रकाशित समय १६:३९ बजे

















