गृहपृष्ठ यस्तो छ भाइटीका लगाउने शास्त्रीय विधि

यस्तो छ भाइटीका लगाउने शास्त्रीय विधि

bhaitika-newskarobar

आज भाइटीका । यमपञ्चकका पाँच दिनमध्येको अन्तिम र विशेष दिन हो यो । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सम्मानपूर्वक टीका लगाइदिने गरिन्छ । संस्कृतमा भ्रातृ शब्दले दाजुभाइ दुवैलाई जनाउँछ । सजिलाका लागि भाइटीका भनिए पनि दाजुभाइ दुवैलाई टीका लगाइदिने भन्ने बुझ्नुपर्छ ।

भाइटीकामा दाजुभाइलाई टीका लगाइदिनुको विशिष्ट सांस्कृतिक महत्व छ । भाइटीका दाजुभाइ र दिदीबहिनीबीच निकटतम शुभचिन्तक रहेको बोध गराउने पवित्र संस्कृति हो । उनीहरुबीच वर्षमा एक पटक भए पनि सद्भावपूर्ण भेटघाट होस् भन्ने ध्येय यसमा लुकेको हुन्छ ।

त्यसैले भाइटीका एक पवित्र अनुष्ठान पनि हो । यो अनुष्ठान सम्पन्न गर्न मनैदेखिको समर्पण आवश्यक हुन्छ । अन्य समयमा शत्रुका रुपमा हेरिन्छ भने भाइटीका लगाउनु र लगाइदिनुको कुनै अर्थ रहँदैन । भाइटीका लगाउने वा लगाइदिने गर्ने हो भने सर्वदा सद्भाव प्रकट हुनुपर्छ ।

दाजुभाइ र दिदीबहिनी दुवै भाइटीका अनुष्ठानमा कृतज्ञ हुन सक्नुपर्छ । यस चाडलाई लेनदेनको माध्यम नबनाई प्रेम प्रकट गर्ने अवसरका रुपमा लिनुपर्छ । कहिलेकाहीँ भाइलाई वा बहिनीलाई उपहार दिन नसक्दा खिन्न भएका मानिस पनि भेटिन्छन् । यसरी पर्वलाई बोझका रुपमा लिनु हुन्न । आ–आफ्नो गच्छेअनुसार उपहार दिनुपर्छ । भाइटीकामा दिदीबहिनीलाई उपहार दिनैपर्छ भन्ने छैन । क्षमता भए दिदीबहिनीले पनि उपहार दिँदा फरक पर्दैन । दिदीबहिनीको लिनु हुँदैन भन्ने भाव पनि राखिनु हुन्न ।

दिदीबहिनी वा दाजुभाइ नहुनेहरु पनि निराश हुनु हुन्न । सम्भव भए धर्म दाजुभाइ वा धर्म दिदीबहिनीको नाता जोडेर पनि भाइटीका गर्न सकिन्छ । यसमा सद्भाव र समर्पणको मात्र खाँचो हुन्छ । कुनै पनि नातामा स्वार्थ र कपट चाहिँ लुकेको हुनु हुँदैन ।

भाइटीकाको विधि
कतिपय मानिस भाइटीकाको तरिका नजानेर अलमल गरेको पाइन्छ । यहाँ हाम्रो संस्कृतिअनुसार सरल रुपमा भाइटीका लगाइदिने तरिका प्रस्तुत गरिएको छ :

भाइटीकाका दिन टीका थाप्ने र लगाइदिने दाजुभाइ र दिदी बहिनी नुहाइधुहाई गरी स्वच्छ कपडा फेरेर बस्नुपर्छ । भाइटीकामा पनि साधारण पूजा सामग्री आवश्यक हुन्छ । सबै सामान जुटाएर शुद्ध आसनमा बसेर भाइटीका गरिन्छ ।

सर्वप्रथम दियो बालेर कर्मपात्र बनाई संकल्प गर्नुपर्छ । कर्मपात्र बनाउँदा आधा लिटर जति पानी अट्ने तामाको भाँडोमा कुशबाट बनाइएको औंठी, शुद्ध पानी, चन्दन, अक्षता, जौ, तिल र फूल राख्नुपर्छ । त्यसलाई बीचको र साहिँली औंलाले चलाएर त्यसमा फूल चोपी आफू र पूजा सामग्रीमा हल्का छ्याप्नुपर्छ ।

यसपछि देशकाल खुलाएर आफू र आफ्ना दाजुभाइको आयु र आरोग्य वृद्धिको कामनाका लागि दीप, कलश, गणेशसहित यम-यमुना, यमदूत, सूर्यादि, नवग्रह, मार्कण्डेयसहित अष्टचिरञ्जीवीको पूजा गर्ने प्रतिज्ञा गर्नुपर्छ । संकल्प गर्दा कुशको टुक्रासहित थोरै जल हातमा लिई संकल्प भनिसकेपछि कुनै सामान नबिग्रने गरी पानी भुइँमा छोडिन्छ ।

अब अघ्र्य स्थापना गरी दियो, कलश र गणेशको विधिपूर्वक पूजा गरेर पृथ्वीको प्रतीकस्वरुप षड्दल वा अष्टदल संकेत गर्ने पीठ निर्माण गरी त्यसैको मध्यभागमा यमको आह्वान गरी प्राण प्रतिष्ठा गरेर यमको ध्यान गरिन्छ ।

अघ्र्य स्थापना गर्दा एउटा सानो पवित्र भाँडामा पानी, दूध, दही, कुशका टुक्रा, अक्षता, जौ, तिल, सस्र्युं, दुवाका टुप्पा, चन्दन, फूल, सिन्दूर र अबिर राखेरे आफ्नो दायाँतिर राख्नुपर्छ । यसमा सम्पूर्ण पवित्र गंगाहरुको पानी छ भन्ने सम्झनुपर्छ । यो पानी पनि सबै पूजा सामग्रीमा छर्कनुपर्छ । शास्त्रमा यी सबै कर्म मन्त्रसहित गर्न भनिएको छ । तर, मन्त्र सबैले पढ्न वा बुझ्न नसक्ने हुनाले यहाँ उल्लेख गरिएको छैन ।

त्यही प्राण प्रतिष्ठा गरेको ठाउँमा यमराजको आसन कल्पना गरी एउटा फूल राख्नुपर्छ । पाद्यम् भनी पानी चढाइदिने अनि स्थापित अघ्र्य पनि चढाउने, आचमनका लागि शुद्ध पानी दिने, पञ्चामृत समर्पण गरी पुनः स्थान गर्न भनी शुद्ध जल अर्पण गर्ने, गन्धसहितको पानी अर्पण गरी पुनः शुद्ध जल दिने र वस्त्र अर्पण गर्नुपर्छ । यसपछि यज्ञोपवीत (जनै) अर्पण गरी शृंगारका लागि चन्दन चढाएर पुनः फूल चढाउनुपर्छ ।

यसपछि यमदूतको प्रार्थना गरी यमराजकै विधिले पूजा गरी क्रमशः यमुना, यमुना परिचारिकको पूजा गरेर सूर्य, नवग्रह, गणेश, विष्णु, शिवको पूजा गरी मार्कण्डेय, व्यास, दौणि, परशुराम, कृप, बलि, हनुमान र विभीषणको पूजा गर्नुपर्छ ।

यसपछि धूप, दीप, नैवेद्य, आचमन, फल, सुपारी, दक्षिणा, नीराजन (ज्योति) समर्पण गरिसकेपछि पुष्पाञ्जली गर्नुपर्छ । यति गरिसकेपछि हातमा फूल लिएर अष्टचिरञ्जीवीको प्रार्थना गर्नुपर्छ ।

यसपछि भाइको प्रार्थना गरी टीका र प्रसाद समर्पण गरिसकेपछि दाजुभाइले पनि दिदीबहिनीको पूजा गरी प्रार्थनापूर्वक टीका लगाइदिनुपर्छ । यथाशक्ति उपहार पनि दिनुपर्छ ।

कन्या दिदी वा बहिनीले टीका लगाइदिएको भए असल पति मिलुन् भनी कामना गर्न सकिन्छ । अन्त्यमा, यमराजको कीर्ति भन्दै उनलाई प्रसन्न बनाउने पर्यत्न गर्नुपर्छ । त्यसपछि अर्घ्य निवेदान गरी पूर्णपात्र, दक्षिणादान गरी पूजा विसर्जन गर्नुपर्छ । लोक पद्धतिअनुसार अघिपछि मिलाएर गरिआएका अन्य विधि पनि पालना गर्दै उल्लासपूर्वक भाइटीका मनाउनुपर्छ ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु