गृहपृष्ठ सोलुखुम्बुमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता

सोलुखुम्बुमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता

जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित व्यक्ति नै लागिपरेको तथ्य खुलेको हो ।

मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बुधबार उजुरीसमेत दर्ता गरिएको छ ।

साविक जुभिङ गाविस-५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नं ५७९ को २ लाख ९८ हजार २३० वर्गमिटर, कित्ता नं ५८१ को ३ लाख ९८ हजार ५६० वर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरी दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ । विसं २०५८ साउन ३१ गते कित्ता नं ५७९ कित्ताकाट हुँदा ६२० नयाँ कित्ता कायम भई ३ हजार १ सय वर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्डबुकमा उल्लेख गरिएको छ ।

यस्तै सोही मितिमा कित्ता नं ५८१ बाट कित्ताकाट भई २ हजार ५ सय वर्गमिटर जग्गा बुधमाया थापामगरकै नाममा दर्ता गरिएको छ । विसं २०७१ कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाट गरी विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरिएको छ । करिब २ करोड रुपैयाँ मूल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगरसमेतको नाम जोडिएको छ । प्रेमबहादुर थापामगर नेपाली कांग्रेसका जिल्ला नेता हुन् ।

यस्तै साविक चौरीखर्क गाविस-८ स्थित तेञ्जिङ हिलारी विमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गासमेत व्यक्तिको नाममा दर्ता गरिएको रहस्य खुलेको छ । बिरह ढडेन साविक सोताङ-३ घर भई हाल चौरीखर्क-८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा ७६५७.५ वर्गमिटर सरकारी जग्गा दर्ता भएको उजुरीमा उल्लेख छ ।

नापी कार्यालयको तथ्यांकअनुसार विसं २०६९ मंसिर १८ गते कित्ताकाट गरी सुबोध नेपालीको नाममा कित्ता नं ८३३ कायम गरी १०४७.४८ वर्गमिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्ता नं कायम गरी ६६२० वर्गमिटरको जग्गा कृष्णबहादुर नेपालीकी श्रीमती मनमाया नेपालीको नाममा दर्ता गरिएको छ । सूचनाकर्ता वीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मूल्य करिब ३ करोड रुपैयाँ रहेको छ ।

यस्तै साविक चौरीखर्क-१ स्थित नेपाल सरकारको नाममा रहेको कित्ता नं ११६ को ८ लाख ३० हजार ८५० वर्गमिटरको जंगलसमेत व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । साविक चौरीखर्क-२ बस्ने दावानुर्वु शेर्पाले विसं २०७० साउन १८ गते तीन वटा कित्ता ४५९, ४६० र ४६१ मा क्षेत्रफल क्रमशः ४ हजार १५०, १४ हजार १ सय र १५ हजार ५३० वर्गमिटरको जग्गा आफ्नो नाममा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । अन्दाजी ४ करोड रुपैयाँ पर्ने उक्त सरकारी जग्गा मालपोतका तत्कालीन प्रमुखलगायतले बद्नियतपूर्ण तरिकाले पदको दुरुपयोग गरी व्यक्तिको नाममा दर्ता गरेको भन्दै छानबिन गरी कानुनअनुसार कारबाही गर्न सूचनाकर्ता वीरउदास श्रेष्ठले अख्तियारसमक्ष माग गरेका छन् ।

जिल्लाका तीनै जना सांसद र सञ्चारमाध्यमलाई समेत बोधार्थ दिइएको उक्त निवेदन बुधबार नै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । उनले निवेदन दर्ता भएको भन्दै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सूचना १ बमोजिम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रभित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सूचनाकर्ता श्रेष्ठले बताए ।

‘सरकारी जग्गालाई व्यक्तिमा जान हामी दिँदैनौं,’ उनले भने, ‘कानुनी उपचारका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छौं ।’

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको प्रक्रियाबारे अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आवश्यक छानबिनका लागि मालपोत कार्यालयसँग दर्ता प्रक्रियाबारे जानकारी माग्ने प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

दर्ता गर्न मिल्ने वा नमिल्ने कानुनी आधार, उक्त जग्गा साबिकमा सरकारी, सार्वजनिक वा निजी कुन प्रकृतिको रहेको तथा कुन प्रक्रियाबाट दर्ता भएको लगायत विषयमा आवश्यक छानबिन गरेपछि मात्र सत्यतथ्य बाहिर आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
(भोजराज कार्की/रासस)

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु