गृहपृष्ठ एकीकृत बस्तीका १७ घर भूकम्पपीडितलाई हस्तान्तरण
एकीकृत बस्तीका १७ घर भूकम्पपीडितलाई हस्तान्तरण
‘ह्योल्मो फाउन्डेसन’को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका एकीकृत बस्तीका १७ घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका-२ स्थित स्योमखर्कमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रूपमा क्षति भएका १७ जनाले नयाँ घर पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बुधबार संयुक्त रूपमा एक कार्यक्रमका बीच उक्त घर हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा पर्यटनमन्त्री भट्टराईले भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण सरकारको पहिलो प्रथामिकतामा रहेको बताए ।
‘भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणलाई अवसरका रूपमा एकीकृत बस्ती, विपद् प्रतिरोधी आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘सरकारी अनुदानको सही उपयोग गर्न लाभग्राही पनि इमान्दार बन्नुपर्छ ।’
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले गाउँखर्क मात्र नभई दुप्चेश्वर गाउँपालिकाभित्रको सबै स्थानमा एकीकृत बस्तीको आवश्यकता रहेको बताए ।
यस्तै प्रदेश ३ का उपसभामुख राधिका तामाङले भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय दाता गुहारेअनुसार उपलब्धि भने प्रभावकारी नभएको टिप्पणी गरिन् । भूकम्पपीडितले प्रभावकारी र आवश्यकअनुसार घर बनाउन नसकेकाले अहिले बनेका घरको आकार सानो र परिवारका लागि उपयुक्त नभएको उनको भनाइ छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले सिंगो गाउँपालिकामा एकीकृत बस्ती निर्माण गरेर तामाङ समुदायको पहिचान झल्कने आवासमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन स्थानीय सरकार लागिपरेको बताए ।
स्विटजरल्यान्डको ‘माउन्टेन टु माउन्टेन’ संस्थाको अगुवाइमा ‘ह्योल्मो फाउन्डेसन’ नेपालले दुई वर्ष लगाएर निर्माण गरेको घर हस्तान्तरणमा नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङ, दुप्चेश्वर गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता थियो । (रासस)
प्रकाशित समय १०:१० बजे

















