गृहपृष्ठ माछा लोप हुन थालेपछि नदीमा करेन्ट लगाउन प्रतिबन्ध
माछा लोप हुन थालेपछि नदीमा करेन्ट लगाउन प्रतिबन्ध
करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि व्यास नगरपालिका-५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ । करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो ।
वडाअन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारबाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । गैरकानुनी तरिकाले माछा समात्ने र मार्ने व्यक्तिलाई २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना वा जलचर ऐनबमोजिम कडा कारबाही गरिने उनले बताए ।
‘करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा लोप हुँदै गएका छन्,’ उनले भने, ‘यस्ता कार्यलाई नियन्त्रण गर्न लागिपरेका छौं ।’ वडाध्यक्ष श्रेष्ठका अनुसार नदीमा करेन्ट प्रयोग गरे-नगरेकोबारे अनुगमन भइरहेको छ । माछा मार्नका लागि जालको प्रयोगलाई भने खुला गरिएको छ । (रासस)
प्रकाशित समय १४:२२ बजे

















