गृहपृष्ठ अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्छ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गरेको मानवीय सेवा अन्यका लागि नमुना बनेको छ ।
अध्यक्ष शाहीले गाँउपालिका-१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ६ महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएका छ । उनी आफैं ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा पुगेको सामाजिक अभियन्ता प्रकाश सिंहले जानकारी दिए ।
‘बालबालिकाको पालनपोषण र शिक्षादीक्षाको जिम्मा एसओएसले जिम्मा लिने भनेपछि मात्र आफैं बालबालिका लिएर गएको हुँ,’ अध्यक्ष शाहीले भने । बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने जानकारी दिए ।
बालग्राममा पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कुवेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो । ती दुवै बालबालिका कुपोषित रहेका छन् । उनीहरूकी आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो । ५१ वर्षीया हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए । (रासस)
प्रकाशित समय ११:१८ बजे

















