गृहपृष्ठ बालसुधार गृहमा बालक बढी हुँदा समस्या

बालसुधार गृहमा बालक बढी हुँदा समस्या

जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ ।

विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कुल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरूलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ ।

बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायत अन्य सेवा सुविधा लुगा, कपडा, खान-बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने, ‘बालकहरु बढी भएका कारण उनीहरुको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षा क्षेत्रमा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ, बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ निकै समस्या उत्पन्न हुने गरेको छ ।’

बालसुधार गृहको सम्पूर्ण अवस्थाबारे अनुगमन गरी समस्यालाई लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराइसकेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । क्षमताभन्दा बढी बालकहरु भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बालसुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताइन् ।

उनले भनिन्, ‘क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरुको खानपान, बसाइदेखि अन्य सरसफाइ तथा सुरक्षा गर्नमा निकै चुनौती भएको छ, हामीले हाम्रो समस्याबारे पटकपटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन ।’

बालसुधार गृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बालसुधार गृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिइन् ।

डोटी जिल्लामा रहेको बालसुधार गृहमा हाल प्रदेश नं ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदूरपश्चिम प्रदेशभरि एक मात्र बालसुधार गृह भएका कारण यहाँ बालकहरुको बढी चाप रहेको बालसुधार गृहका कर्मचारीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘प्रदेशभरिकै एउटै मात्र बालसुधार गृह बनाउनुभन्दा अन्य जिल्लामा पनि बालसुधार गृह निर्माण गरिएको भए राम्रो हुने थियो ।’ क्षमताभन्दा बढी बालकहरुलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बालसुधार गृह स्थापना गर्नाका साथै भएका बालसुधार गृहलाई व्यवस्थित बनाउनुपर्ने कानुन व्यवसायी शंकरदीप मडैले बताए ।

उनले भने, ‘गलत काम गरेर सुधारका लागि पठाइएका बालकहरुलाई फेरि दुःख दिनुभन्दा बरु बालसुधार गृह नै सुधार गरे राम्रो हुने थियो ।”’ कानुनमा दण्डनीय काम गरेका बालकहरुलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधार गृहमा राखी आचरण सुधार गर्नुपर्ने नेपाल सरकारको नीतिअनुसार देशका अन्य सात वटा जिल्लासहित सुदूरपश्चिम प्रदेशमा पनि बालसुधार गृह स्थापना गरिएको हो । (रासस)

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु