गृहपृष्ठ वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र
चारैतिर फलामे डन्डीले घेरिएको रमणीयस्थल । घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला । गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम र ठेगाना । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित कर्मामन्दिर नजिकै रहेको ज्येष्ठ नागरिकले सञ्चालन गरेको दिवा सेवा केन्द्रको पञ्चिमपट्टि प्रवेशद्वार छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा निर्माण गरिएको प्रवेशद्वारबाट भित्र पसेपछि घाँसे चउरमा दिनभर भेला भएर वृद्धवृद्धा बस्छन् ।
पारिलो घाममा भेला भएर दिनभर बस्ने ज्येष्ठ नागरिक संघमा आबद्ध वृद्धवृद्धा दैनिक बिहान खाना खाएर आएका हुन्छन् । केन्द्रमा भेला हुने उनहरु घाम मात्र तापेर बस्दैनन् । आआफ्नो नामको गमलामा पानी हाल्छन्, भजन गाउँछन्, महाभारत, गीता, स्वस्थानीलगायत विभिन्न धार्मिकग्रन्थमा आधारित किताब पढ्छन्, कथा सुनाउँछन् र ऐतिहासिक कुरा गरेर दिन बिताउँछन् ।
विसं २०७० मा गठन भएको ज्येष्ठ नागरिक संघमा आबद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारीलगायत विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारीसमेत गर्छन् । स्थानीयवासी दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित ज्येष्ठ नागरिक संघमा ३७१ आजीवन सदस्य छन् । चन्दा संकलन, देउसी-भैलो तथा दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको दिवा सेवा केन्द्र भवनलाई सुरक्षित बनाउन नगरपालिकाको १५ लाख रुपैयाँ लगानीमा बार र प्रवेशद्वार निर्माण गरिएको हो । उनहरुले करिब दुई वर्ष लगाएर २१ लाख रुपैयाँ लगानीमा दिवा सेवा केन्द्र भवन निर्माण गरेका हुन् ।
ज्येष्ठ नागरिक तथा बालमैत्री शौचालयसमेत रहेको संघको दुईतले पक्की भवन भवनगैरास्थित कर्मामन्दिर नजिकै हुलाकडाँडामा छ । गर्मी मौसममा बढी घाम लाग्दा र वर्षातको समयमा पानी पर्दा ओत लाग्न मिल्ने गरी आफ्नै लगानीमा भवन निर्माण गरिएको ज्येष्ठ नागरिक संघले जनाएको छ । ज्येष्ठ नागरिकहरुबीच भेटघाट गर्न र अनुभव आदानप्रदान गर्न आफ्नै भवन निर्माण गरेर दिवा सेवा केन्द्र स्थापना गरिएको संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।
‘दिवा सेवा केन्द्र सञ्चालन गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूका लागि दिवा सेवा सुख-दुःखको अनुभव साटासाट गरे दिन बिताउने थलो बनेको छ ।’ यसअघि समय बिताउनै मुस्किल हुने वृद्धवृद्धालाई दिवा सेवा केन्द्र स्थापना भएपछि सुख-दुःखको अनुभव साटासाट गर्ने रमाइलो थलो बनेको छ ।
दिवा सेवा केन्द्रमा नाच्ने, गाउने धेरै जना हुने भएकाले केन्द्रमा भेला हुने वृद्धवृद्धा खुसी र तनावरहित देखिन्छन् । उक्त केन्द्र नयाँपुस्तालाई केही सिक्नुपरेमा पुरानो पुस्ता भेट्ने मुख्य स्थानसमेत बनाइएको अध्यक्ष घिमिरेले बताए । आफ्नो हक तथा अधिकारका लागि एकजुट भएर अगाडि बढिरहेका उनहरुले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिनुपर्ने माग गरेका छन् ।
दैनिकजसो हरेक नयाँ विषयमा छलफल चलाउने उनहरुले नगरप्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनहरुले गत बिहीबार नगरप्रमुख दीपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै एकल महिलासरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गर्न माग गरेका हुन् । महिला र पुरुषलाई समान अधिकार भनिरहँदा श्रीमतीको मृत्यु भएका, कुनै कारणबाट श्रीमतीसँग बिछोड भएका, अर्को विवाह नगरेका ७० वर्षभन्दा कम उमेरका विदुरले कष्टकासाथ जीवन बिताइरहेकाले सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताए ।
ज्येष्ठ नागरिक संघले जिल्लाका वृद्धवृद्धालाई धार्मिक भ्रमण तथा तीर्थाटन गराउन बस खरिद गर्नेसमेत तयारी गरेको छ । नेपालका विभिन्न धर्मशाला, मठमन्दिर, रमणीयस्थलदेखि सहर घुमफिर गर्ने ज्येष्ठ नागरिकको चाहनालाई मध्यनजर गर्दै ३२ सिट भएको बस खरिद गर्ने तयारी भएको जनाइएको छ । (केदार मगर/रासस)
प्रकाशित समय १०:२३ बजे

















