गृहपृष्ठ प्रकृति र पुर्खालाई नयाँ अन्नबाली चढाइँदै
प्रकृति र पुर्खालाई नयाँ अन्नबाली चढाइँदै
आज मंसिरे पूर्णिमा अर्थात् किरात चाड । किरात समुदाय अन्तर्गतका राई, लिम्बू, याक्खा र सुनवार जातिले आज उधौली पर्व धुमधामका साथ मनाइरहेका छन् । उधौलीलाई लिम्बूले चासोक, राईले साकेला उधौली, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदर भन्दछन् ।
उधौली पर्वमा यस वर्ष पाकेको नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चढाउने गरिन्छ । यसरी नयाँ बाली नचढाए समुदायमा अनिष्ट हुने किरात समुदायमा विश्वास छ । प्रकृति र पुर्खाहरुको आशिर्वाद तथा कृपाले मात्र खेतीपाती लगायतका मानव कर्महरु सम्भव भएकाले सबैभन्दा पहिले उनीहरुलाई नै अर्पण गर्नुपर्दछ भन्ने मान्यता रहिआएको छ ।
किरात समुदायको सघन बसोवास रहेको प्रदेश १ का विभिन्न जिल्लाका गाउँ, बस्तीहरु आज उधौलीमय बनेको छ । यस अवसरमा प्रदेश १ सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । याक्खा, लिम्बु, राई र सुनुवार जातिका सामाजिक संस्थाहरु किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा र सुनुवार सेवा समाजको अगुवाइमा उधौली मनाउने गरिएको छ ।
किरात समुदायमा उधौली मनाउने शैली फरक-फरक बन्दै गइरहेको छ । गाउँघर र शहरतिर उधौली मनाउने तरिकामा पनि विविधता आउन थालेको पाइन्छ । तर नयाँ अन्नबाली चढाउने, आफन्तबीच भेटघाट गर्ने लगायतमा भने समानता छ । उधौली पर्वका अवसरमा सामूहिक पूजाआजा गरी नाचगान गर्ने गरिन्छ । नेपालका अन्य समुदायका पर्वहरुजस्तै उधौली पनि समावेशी बन्दै गइरहेको छ । यस अवसरमा विभिन्न समुदायका साथीभाइ र छरछिमेकसँग समेत शुभकामना आदानप्रदान हुन थालेको छ ।
प्रकाशित समय १३:३३ बजे


















