गृहपृष्ठ पाँच महिनामै प्रदेश १ मा डेढ सयको मृत्यु

पाँच महिनामै प्रदेश १ मा डेढ सयको मृत्यु

प्रदेश १ मा चालु आर्थिक वर्षको पाँच महिनामा १ सय ४९ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

चालु आर्थिक वर्षमा १४ जिल्ला रहेको प्रदेश १ मा ०७६/०७७ को मंसिर महिनासम्म ६ सय १३ वटा दुर्घटना भएको छ । उक्त सवारी दुर्घटनाबाट सय ४९ जनाको मृत्यु र ४ सय १२ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रमुख एसपी भीम दाहालका अनुसार सबैभन्दा बढी चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । चालु आर्थिक वर्षमा चालकको लापरबाहीले २ सय ८७ दुर्घटना भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।

जीर्ण सडकको अवस्थाले २ सय १४ र ३२ वटा मादक पदार्र्थ सेवन (मापसे) गरी सवारी चलाउनले दुर्घटना भएको हो । प्रदेशमा भएको सवारी दुर्घटनाको त्रिवर्षीय अभिलेखले दुर्घटनामा परी मृत्यु हुने संख्यामा घटबढ देखिएको छ ।

आथिक वर्ष ०७३/०७४ मा १ हजार ३ सय १८ वटा सवारी दुर्घटनामा परी ३ सय ५० जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७६ जना घाइते भएको प्रदेश ट्राफिकको अभिलेखमा देखिन्छ ।

आर्थिक वर्ष ०७३/७४ को तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा दुर्घटनामा परी ७४ जनाको मृत्यु हुनेको संख्यामा वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार २ सय ७९ वटा दुर्घटनामा परी ४ सय २४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको छ । आर्थिक वर्षमा १ हजार २ सय ९८ वटा दुर्घटनामा परी ३ सय ७३ जनाको मत्यु भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षभन्दा आर्थिक वर्षमा ५१ जना दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको हो । सबैभन्दा बढी दुई पाङग्रे सवारी साधान बढी दुर्घटनामा मृत्यु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा ४ सय ३४ वटा दुई पाङग्रे सवारी साधन मोटरसाइकल दुर्घटना भएको छ ।

प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने स्थानको पनि प्रहरीले पहिचान गरेकोे छ । प्रदेशको ६ जिल्लामा ४५ स्थानामा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । जसमध्ये सुनसरीमा बढी दुर्घटना हुने गरेको छ ।

सुनसरीको धरान विश्कर्मा मन्दिर, बेसक्याम्प मोड, इटहरी–खनार बाबा मिल, इनरुवा, कोशी ब्यारेजलगायत गरी ११ स्थानमा दुर्घटना हुने स्थानको रुपमा ट्रफिक प्रहरीले पहिचान गरेको छ । यस्तै मोरङमा ८, झापामा ६, इलाम, उदयपुर, धनकुटा, र पाँचथरमा ५/५ स्थानमा दुर्घटना हुने स्थलको प्रहरीले पहिचान गरेको छ ।

सवारी दुर्घटनाको प्रमुख कारण भनेको मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनामा भएको प्रहरी उपरीक्षक गौतमले जानकारी दिए । उनले भने, ‘दुर्घटनाको अर्को कारण सडक पनि हो । साँघुरो सडकले गर्दा कतिपय क्षेत्रमा दुर्घटनामा हुन पुग्दछ ।’

त्यस्तै गलत तरिकाले उछिन्ने, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओर्लने, सवारी सही ठाउँमा नरोक्नुले दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

पूर्वी भेगको सडक साघुँरो र केही ठाउँमा जीर्ण भएको कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । उनले भने, ‘चालक ट्राफिक नियम पालना गरी सवारी चलाए दुर्घटना आफैं न्यूनीकरण हुन्छ ।’ दुर्घटना कम र ट्राफिक जाम हटाउन आफूहरुले पछिल्लो समय ट्राफिक सचेतना अभियान व्यापक रुपमा चलाएको उनले बताए ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु