गृहपृष्ठ नियम उल्लंघन गर्ने कसैलाई सहुलियत नदिनू : डीआईजी पोखरेल
नियम उल्लंघन गर्ने कसैलाई सहुलियत नदिनू : डीआईजी पोखरेल
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सडक नियम उल्लंघन गर्ने जोकोही भए पनि कानुनी कारवाही गर्न ट्राफिक प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण गर्ने क्रममा डीआईजी पोखरेलले उपस्थित प्रहरी कर्मचारीहरूलाई त्यस्तो निर्देशन दिएका हुन् ।
‘सडकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको निगरानीमा रहने भएकाले उसको बोलीवचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्छ,’ उनले भने ।

धुलोधुवाँ, घामपानी नभनी हरपल खट्ने ट्राफिक प्रहरीले एउटा सानो गल्ति गरे वा लोभमा फसे समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले भ्रष्टाचारमा शुन्य सहनशीलता नीति अबलम्वन गरिएको उनले बताए । डीआईजी पोखरेलले राम्रो काम गर्ने कर्मचारीलाई नागरिकको साथ सदैव रहने स्मरण गराउँदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने बताए ।
सबै क्षमता र ओहदाका नागरिकसँग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमीकमजोरीलाई सुधार्दै बोलीवचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन तथा कानुन कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रकाशित समय १७:५२ बजे

















